गाउँका यूवालाई टन्नै पेट्रोल, विहान–बेलुकी खाना, भाडामा सवारीसाधन, प्रचार साम्रागी, झण्डा, टिर्सट लगाएतका साम्रागी चुनावी आमसभामा आएका मतदातालाई आवश्यकता अनुसारको बाटो खर्च स्थानीय तहको निर्वाचनमा वडास्तरमा चुनावी मैदानमा उत्रिएका अध्यक्ष सहितको टोलीले दैनिक चुनावी खर्चको ब्यवस्थापन गर्ने गरेका छन् । करिव दुई दशक यता हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा आक्रमक प्रचारप्रसारमा जुटेका उम्मेदवारले वडास्तरमै करिव १० देखी ३० लाखसम्मको खर्च अनुमान गरी चुनावी मैदानमा होमिएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र सहित साना दलले वडास्तको चुनावको मतपरिणाम आफ्नो पक्षमा पार्न दैनिक घरदैलो, टोलटोलमा हुने गतिविधिमा ब्यक्तिगतका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तबाट समेत चुनावी खर्च जुटाउने गरेका छन् ।‘दुईतीन लाख खर्चको अनुमान गरिएको थियो, विपक्षीले धेरै खर्च गरेपछि बाध्य भएर खर्च गर्नुपरेको छ’एक वडा अध्यक्षले भने ।उनले निर्वाचन आचारसंहितमा धेरै खर्च गर्न नपाईने प्रावधान रहेपनि अनुगमन र कुनैपनि दललाई सचेत नगरिएकाले पनि खर्चले सिमा नाघेको बताए ।

वडास्तरमा अध्यक्ष र खुल्ला सदस्यमा उम्मेदवारी दिएकालाई धेरै आर्थिक भार पर्ने गरेको उनले गुनासो गरे।विषेशगरी आर्थिक हैसियत राम्रो भएका दलका उम्मेदवारले यूवा परिचालन, नियमित घरदैलो लगाएतमा समेत धेरै खर्च गर्ने गरेको पाइएको छ । विदेशबाट फर्किएका, पूर्व सैनिक, ब्यवसायीले चन्दाभन्दा आफ्नै सम्पतीबाट खर्च जुटाउने गरेको भएपनि गाउँघरमै जनताको सेवामा सक्रिय रहेकालाई आर्थिक गतिविधिले चुनावमा पराजयको डरले समेत ऋण खोजेर भएपनि खर्च गर्नुपर्ने बाध्यता बनाएको उम्मेदवारको गुनासो छ ।

‘वडामै लाखौं खर्च भएको देखिन्छ, आर्थिक हैसियतका आधारमा चुनाव लड्नुपर्ने बाध्यता बन्दैछ’ मंगला गाउँपालिका–कुहुँका नेकपा मओवादी केन्द्रका नेता दिलबहादुर किसानले बेनीअनलाइनलाई भने । उनले गाउँघरमै बसेर बषौंसम्म जनताको सेवा गर्ने नेताहरूलाई आर्थिक हैसियत राम्रो भएकाले विस्थापित गर्ने सम्भावना देखिएको बताए । गाउँका अति आवश्यक क्षेत्रमा आर्थिक सहयोग, गरिव, दलित लगाएतलाई आर्थिक प्रलोभन लगाएतका कारणले समेत अन्तिम समयमा माहोल परिवर्तन गर्ने गरिएको उम्मेदवारको गुनासो छ ।

यता जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले वडास्तरको निर्वाचनमा २ लाख खर्च गर्न पाइने बताए ।जनताले आफ्नो प्रतिनिधि चुन्न अनावश्यक खर्च गरेर मत प्रभावित नगर्न समेत अनुरोध गरे । ‘धम्काएर र खर्च गरेर होईन्, जनताको विश्वास जितेर चुनाव जित्नुपर्छ’ पौडेलले बेनीअनलाइनलाई भने । उनले नगरपालिका भित्रको वडा अध्यक्ष, सदस्य, महिला सदस्य २ लाख, गाउँपालिकामा १ लाख ५० हजारसम्म खर्च गर्ने प्रावधान भएपनि एकैदिन निर्वाचन अवधिभर तोकिएभन्दा धेरै खर्च हुने गरेको छ ।

निर्वाचन कार्यालयले अनुगमन तथा जिल्लास्तरमा राजनीतिक दलसंग समेत आचारसंहितामा बसेर चुनावी गतिविधि अगाडी बढाउन समेत सचेत गराएको छ । बेनी नगरपालिका र पाँच वटा गाउँपालिकामा रहेको ४५ वडामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले चुनवाी तालमेल समेत गरेका छन् । जिल्लामा ७१ हजार ४६३ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।