आगामी आइतबार हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि म्याग्दी जिल्लामा सबै तयारी पुरा भएको छ । निर्वाचन सम्पन्न गर्न तथा गराउनका लागि मतदानस्थलमा निर्वाचन सामाग्री, शिक्षक एवं कर्मचारी र सुरक्षाकर्मी परिचालनलगायत आवश्यक सबै तयारी पुरा गरिएको हो । आइतबार हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको सबै मतदान केन्द्रमा कर्मचारीहरु र सुरक्षाकर्मी परिचालन भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

हरेक मतदान केन्द्रमा ५ जनाका दरले कर्मचारी, दुईजना स्वयंसेवकसहित सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको बताइएको छ । निर्वाचन सम्पन्न गराउनका लागि ५ सय ४७ जना शिक्षक तथा कर्मचारीहरु खटाइएको छ भने ८ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी अति संवेदनशील, संवेदनशील र सामान्य मतदान केन्द्रमा अनुपातका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताउनुभयो ।

निर्वाचनका लागि आवश्यक सबै सामाग्रीहरु बोकेर केन्द्रमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरुले निर्वाचनको तयारी गरेको र आजदेखि मतदाता परिचयपत्र वितरण शुरु गरेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी, एक सहयोगी र दुईजना स्वयंसेवक परिचालन गरिएको छ ।

मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र, तेस्रो घेराको सुरक्षामा नेपाली सेना रहने व्यवस्था मिलाइएको छ । म्यादी प्रहरीले मतदाताको लाइन र भीडलाई व्यवस्थापन गर्ने भएका छन् । झण्डै २ दशकको अन्तरालमा पहिलोपटक हुन लागेको स्थानीय तहको निर्वाचनमा नागरिकहरुमा उत्साह छाएको छ । कुल ७१ हजार ४ सय ६३ मतदाता रहेको म्याग्दीमा ७२ ओटा मतदानस्थल र १०२ ओटा मतदान केन्द्रहरु तोकिएको छ ।