नमुना मतदानमा मतदाताले भने,‘फलामको चिउरा चपाएजस्तै भयो’

0
269

बेनी नगरपालिका–६ बास्बोटकाका बृद्धा प्रेमलाल उपाध्यायले नमुना मतदानको क्रममा केहीमा मत दिएर मतपेटिकमा खसाले । जामुनाखर्क मावि मतदान केन्द्रमा नमुना मतदानमा मत खसाल्दा वडा सदस्यामा मत सङ्केत गर्ने क्रममा अलमलमा परे । दुई कोलमभित्र कुनै दुई कोठामा मात्रै मत सङ्केत गर्नुपर्नेमा उनले बदर सबै मत बदर हुने भन्दै खाली छोडेर निस्किए । उपाध्यायसंगै नमुना मतदानमा सहभागि भएका अर्का बृद्धा हरिदत्त प्रसाद उपाध्यायले समेत सातवटै चिन्हमा स्वस्तिक छाप लगाउँदा अलमलमा परे ।

जिल्ला निर्वाचन कार्यालयले मतदातालाई नमुना मतदानमा सहभागिता गराउने उद्देश्यले मतदान परिचय पत्र लिन आएका मतदाताको सहभागितामा नमुना मतदान कार्यक्रम गरेपनि बृद्धबृद्धा,निरक्षर मतदाताले मतदानको क्रममा अलमलमा परेका थिए ।नमुना मतदानमा सहभागि भएका बुढापाकाले मतदान गर्ने प्रक्रिया फलामको चिउरा चपाएजस्तै भएको प्रक्रिया समेत दिएका थिए ।

जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्र विच बेनी नगरपालिका, मंगला र धौलागिरि गाउँपालिकामा चुनावी तालमेल, नेकपा एमाले र राप्रपा विच बेनी नगरपालिका, नेकपा एमाले, माओवादी केन्द्र, र राप्रपा विच रघुगंगा गाउँपालिकामा तालमेल गरेर चुनावी मैदानमा उत्रिएको अवस्थामा तालमेल गरेको पदमा मतदान गर्न निरक्षर र बुढापाकालाई समस्या भएको यूवा अर्जुन पौडेलले बताए । स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, महिला, दलित र दुई खुल्ला सदस्यलाई मत खसाल्नुपर्ने अवस्थामा दल विचको चुनावी सहकार्यले मतदातामा अन्यौलता थपिएको पौडेलको भनाई छ ।

जिल्ला निर्वाचन कार्यालयले जिल्लाभर रहेका ७२ मतदानस्थल मध्ये बेनपा–६ जामुनाखर्क मावि मतदान केन्द्रमा रहेका कुल ११ सय ३२ मतदातालाई लक्षित गरेर नमुना मतदानको अभ्यास गरेको थियो । निर्वाचन अधिकृत केदारनाथ पौडेलका अनुसार ४०जना मतदाताले सहभागिता जनाएका थिए । नमुना मतदान लगत्तै मतदानको सम्रग प्रक्रियाका बारेमा जानकारी गराइएको थियो । निर्वाचन कार्यालयका साथै दलहरूले समेत आफ्नो मतपत्रमा मतदान गर्ने तरिकाका बारेमा जानकारी गराइरहेका छ् । कुल ७१ हजार ४ सय ६३ मतदाता रहेको म्याग्दीमा ७२ ओटा मतदानस्थल र १०२ ओटा मतदान केन्द्रहरु तोकिएको छ ।