आइतबार हुने स्थानीय तह निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार म्याग्दीका राजनीतिक दलहरुले विभिन्न ठाउँमा चुनाबी सभा तथा कार्यक्रम गरेका छन् । कांग्रेस–माओवादी संयुक्त गठवन्धनका तर्फबाट मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठ र उपमेयरका उम्मेदवार ज्योती लामिछानेसहितको टोलीको अर्थुङ्गेमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

उनीहरुले बेनीबजारमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका थिएभने अथुङ्गे–जामुनाखर्क र सल्लेरीसम्म घरदैलो गरी एकपाटे शिवालयको प्राङ्गणमा टोलभेला गरेका थिए ।रघुगंगा गाउँपालिकाको भगवतीमा पनि नेपाली कांग्रेसले चुनावी सभा सम्पन्न गरेको जनाएको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद मीनबहादुर विश्वकर्माले गाउँपालिकाको विकास र समृद्धिको लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य एवं सांसद किरण यादव, सांसद रेशमबहादुर वानियाँ, म्याग्दी कांग्रेसका सभापति खमबीर गर्वुजा, कोषाध्यक्ष टंक हमाल, गाउँपालिकाका उम्मेदवार भवबहादुर भण्डारीलगायतले सम्बोधन गरेका थिए । यसैगरी नेकपा एमाले र राप्रपा गठबन्धनको उम्मेदवारहरुले पनि बेनी नगरपालिका–६ अर्थुङ्गेमा घरदैलो, मतदाता भेटघाट र चुनावीसभा गरेका छन् । एमालेको तर्फबाट नगरपालिकाका मेयरका उम्मेदवार प्रमोद श्रेष्ठ र राप्रपाको तर्फबाट उपमेयरका उम्मेदवार सन्जु बरुवालसहित वडाका उम्मेदवारहरुले अर्थुङ्गे घरदैलो र मतदाता भेटघाट गरी आफूहरुलाई जिताउन आग्रह गरेका थिए ।

अर्थुङ्गेमा सम्पन्न चुनाबी सभामा एमाले म्याग्दीका प्रचार विभाग प्रमुख सुरत केसी, जिल्ला सदस्य कृष्णकुमार विश्वकर्मा, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेललगायतले बोलेका थिए । त्यस्तै एमालेका पाँचवटै गाउँपालिकाका उम्मेदवारहरुले आआफ्नो क्षेत्रमा घरदैलो अभियान तथा मतदाता भेटभाट कार्यक्रमहरु सम्पन्न गरेको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।

उनका अनुसार अन्नपूर्ण गाउँपालिकामा उम्मेदवारहरुको टोलीले दाना र काभ्रेमा घरदैलो अभियान सम्पन्न गरेको छ भने रघुगंगामा गाउँपालिकास्तरीय चुनावी सभा भगवतीमा सम्पन्न भएको छ । पश्चिम मालिका गाउँपालिकाको निस्कोटमा उम्मेदवारसहितको टोलीले चुनाबी सभा तथा विभिन्न स्थानमा मतदाता भेटघाट गरी आफूहरुलाई मतदान गर्न आग्रह गरेका छन्भने मङ्गलाको हिदी, थाईबाङ र धौलागिरि गाउँपालिकामा पनि घरदैलो अभियान सम्पन्न भएको एमालेले जनाएको छ ।

विज्ञापन