चुनाबी तालमेल रोचक बन्दै म्याग्दीको निर्वाचन

0

स्थानीय तह निर्वाचनको मिती नजीकिएसंगै म्याग्दीमा चुनाबी रौकनता छाएको छ । एक नगरपालिका र पाँच गाउँपालिका सहित ४५ वटा वडा रहेको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता छन् । वैशाख ३१ गतेको निर्वाचनबाट २३७ जना जनप्रतिनिधी निर्वाचीत हुनेछन् । म्याग्दीमा ७२ वटा निर्वाचन स्थल कायम भएको छ ।

जिल्ला निर्वाचन कार्यालय र सुरक्षा निकायले बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको तयारी तिब्र पारेका छन । यस पटकको म्याग्दीको चुनाबी रौनक अलि फरक देखिएको छ । मुख्य चार राजनितीक दलहरुले चुनाबी तालमेल गरि निर्वाचनमा उम्मेदवारी दर्तागरेसंगै यहाँको चुनाबी माहोल बढेको छ ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा सबै जसो स्थानीय तहको चुनाबी माहोल रोचक छ । जिल्लाका मुख्य राजनीतिक दलहरुले गाउँपालिकाहरुको निर्वाचनलाई भन्दा जिल्लामा रहेको एकमात्रै नगरपालिकाको निर्वाचनलाई आफ्नो प्रतिष्ठासंग जोडेका छन् ।

साविकका ८ वटा गाविसहरु समावेश बेनी नगरपालिकामा यतिबेला दलहरु गठबन्धन गरि चुनाबमा होमिएका छन् । म्याग्दीको पछिल्ला दुई निर्वाचनको नतिजाले जिल्लाका मतदाता संधैभरी एउटै पार्टीका नेताहरुलाई नजिताउने गरेको नजिर देखाउँछ् । पहिलो संविधान सभा निर्वाचनमा तत्कालिन माओवादीले भारी मतअन्तरले बिजयी हुन सफल म्याग्दीमा दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले बिजयी भएको थियो ।

अहिले पनि मुख्य पार्टीहरुप्रति देखिएको मतदाताको आकर्षणको धरातल हेर्दा कुन पार्टीले बाजी मार्छ ? भन्न सक्ने अबस्था छैन् । बेनी नगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र एउटा प्यानलमा छन भने एमाले र राप्रपाले पनि तालमेल गरि उम्मेदवार छनौट गरेका छन् ।

अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारहरुले समेत बेनी नगरपालिका प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेपनि बिशेष गरि चुनाबी तालमेल गरि निर्वाचनमा होमीएका यिनै दुई समुहबिचमै कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

काँग्रेस–माओवादी गठबन्धनबाट काँग्रेसका हरिकुमार श्रेष्ठ बेनी नगरपालिकाको प्रमुख र माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेल उप–प्रमुख पदमा उम्मेदवार बनेका छन् भने एमाले र राप्रपा गठबन्धनबाट नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठ र उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवाल चुनाबी मैदानमा छन् ।

नेकपा एमाले र राप्रपाको तालमेलबाट नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका एमालेका प्रमोद श्रेष्ठ बेनी नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्ने योजना बनाएको बताउँछन् । ‘‘ विकास र समृद्धि हामी आफैले नेतृत्व गर्ने अबसर आएको छ, जनताले निर्वाचित गराए बेनी नगरपालिकाको विकासको गतिलाई अगाडी बढाउन तत्पर छु,’’– मेयरका उम्मेदवार श्रेष्ठले भने ।

श्रेष्ठले आफ्नो पक्षमा मतदान गर्नका लागि मतदातालाई भेटघाट, घरदैलो , चुनाबी सभा लगायतका कार्यक्रमलाई तिब्र पारेको बताए । बेनी नगरपालिकाको चुनाबमा रोचक के छ भने नगरपालिका प्रमुखको पदमा उम्मेदवार एउटै समुदायबाट प्रतिनिधित्व गर्छन् । जिल्लाको एकमात्रै नगरपालिकाको पहिलो मेयर बन्ने दाउमा रहेका श्रेष्ठद्धय यतिबेला आफुलाई भोट माग्नको लागि घरदैलो अभियानमा व्यस्त छन् ।

काँग्रेस –माओवादी तथा एमाले–राप्रपाको दुई गठबन्धनबाट प्रमुखमा उम्मेदवार बनेका दुबै जनाको व्यक्तिगत र सामाजिक जिवन समेत उचो रहेको कारण यो निर्वाचनमा आफ्नो पक्षमा नतिजा ल्याउन दुबै जनालाई निकै संघर्ष गर्नुपर्ने देखिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तर्फबाट नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका काँग्रेस म्याग्दीका सचिब हरिकुमार श्रेष्ठ नगरपालिकाको सबै बस्तीमा विकासको सञ्चार गराउनु नै आफ्नो प्रमुख एजेण्डा भएको बताउँछन् ।

‘‘ हाम्रो नगरपालिकामा कतिपय ठाउँमा अझैपनि यातायातको सजह पहुँच छैन, कतिपय ठाउँमा अझै कुवाकै पानी खानुपर्ने बाध्यता छ, त्यसैले खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रको विकासका लागि मैले योजना सहित अगाडी बढेको छु, मलाई विश्वास छ जनताले मेरो योजनालाई रोज्नेछन,’’–श्रेष्ठले थपे ।

नगरपालिकामा प्रमुख पद हत्याउनको लागि दोस्रो संविधान सभा निर्वाचनमा म्याग्दीको चुनाबी नतिजा अनुसार दोस्रो ठुलो दल काँग्रेसले तेस्रो ठुलो दल माओवादी केन्द्रलाई उपप्रमुख पद दिएर चुनाबी तालमेल गरेको हो भने पहिलो ठुलो दल एमालेले समेत राप्रपालाई उपप्रमुख पद दिएर चुनाबी तालमेल गरि चिर्वाचनमा होमिएका हुन् ।

नगरपालिका प्रमुख र उपप्रमुखमा चुनाबी तालमेल गरेका दलहरुले वडाहरुमा समेत आबश्यकता अनुसार तालमेल गरेरै चुनाबमा आफ्नो पक्षमा बढी भन्दा बढी लाभ हने गरि नजिता निकाल्ने कसरतमा जुटेको देखिन्छ । यसरी जिल्लाको एक मात्रै नगरपालकामा मख्य चार दल आपसी तालमेल गरि चुनाबमा होमिएपछि बेनीको चुनाबी सरगर्मी ह्वात्तै बढेको छ भने नतिजा कस्को पक्षमा पर्छ अझै आँकलन गर्न सक्ने अबस्था छैन् ।