आगामी आइतबार हुने निर्वाचनमा म्याग्दीका दुईवटा मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र निर्धारण गरिएको छ । अशक्त तथा अपाङ्ता भएकालाई मतदान गर्न सहज बनाउने उदेश्यले बेनी नगरपालिकाको बेनी सामुदायिक मावि र धौलागिरि मावि सिङ्गालाई अपाङ्गमैत्री मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले बेनीअनलाइनलाई बताए ।

‘दुईवटामै आवश्यक तयारी पुरा भएको छ । सबै मतदान केन्द्रमा यो सुविधा सम्भव छैन’ पौडेलले भने । उनले जिल्लाका मतदान केन्द्रमा प्रवेश गर्ने अशक्त र अपाङ्ता भएकालाई पहिलो प्राथमिकता दिने ब्यवस्था मिलाइएको बताए ।धौलागिरि माविमा २०७९ मतदाता छन भने बेनी सामुदायिक माविमा १४ सय ५७ मतदाता रहेका छन । म्याग्दीमा ७२ ओटा मतदानस्थल र १०२ ओटा मतदान केन्द्रहरु तोकिएको छ ।मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल लगाएतको टोलीले समेत मतदान केन्द्रको अनुगमन र आवश्यक सुझाव दिएको छ ।

जिल्लाका सबैजसो मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई जेष्ठ नागरिक, अपाङ्गता भएका र विरामी मतदातालाई पहिलो प्राथमिकता दिन निर्देशन दिइएको छ । आफन्तको सहयोगमा मतदान केन्द्रसम्म आइपुग्ने भएपनि मतदान प्रक्रियामा आफै मतदानस्थलसम्म पुगेर मत खसाल्ने ब्यवस्था छ । निर्वाचन कार्यालयका अनुसार धेरै अपाङ्गता भएका र आवश्यकता महसुस गरिएका स्थानमा सो ब्यवस्था मिलाइएको जनाएको छ । झण्डै २ दशकको अन्तरालमा पहिलोपटक हुन लागेको स्थानीय तहको निर्वाचनमा नागरिकहरुमा उत्साह छाएको छ । कुल ७१ हजार ४ सय ६३ मतदाता रहेका छन् ।

विज्ञापन