मौन अवधीमा रणनीति बनाँउदै म्याग्दीमा दल,सामाजिक सञ्जाललाई छोएन

0

स्थानीय तहको निर्वाचनको चुनावी अभियानमा रहेका म्याग्दीका राजनीतिक दलले निर्वाचन आयोगले तोकेको मौन अवधिमा आन्तरिक तयारी, चुनावी अभियानको समिक्षा थप रणनीतिका साथै घरदैलो अभियानमा समेत जुटेका छन् । वडा, गाउँपालिका र नगरपालिका भित्रका आफ्ना पकट क्षेत्रमा निगरानी र कमजोर मानिएकालाई आफने पक्षमा ल्याउने अभियानलाई समेत तिब्रता दिएका छन् । मौन अवधिमा कुनैपनि चुनावी गतिविधि, प्रचारप्रसार लगाएतका गतिविधिमा बन्द गरेपछि उम्मेदवारले एकल तथा सामुहिक रुपमा घरदैलो, टेलिफोन तथा अन्य माध्यमबाट भोट माग्ने गरेका छन् ।

बेनी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका हरिकुमार श्रेष्ठ, नेकपा एमाले र राप्रपाबाट उम्मेवारी दिएका नेकपा एमालेका प्रमोद श्रेष्ठ दुवै मेयरका उम्मेदवार सहित उपमेयर, वडा अध्यक्ष, सदस्यहरूले समेत आफ्नो पक्षमा मतदातालाई ल्याउन कसरत गरिरहेका छन् । त्यस्तै मंगला गाउँपालिका, मालिका गाउँपालिका, धौलागिरि गाउँपालिका, रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा समेत वडा देखी गाउँपालिकाका उम्मेदवारले दुईदिनमा आफ्नो माहोल गुम्न सक्ने भन्दै निगरानीका साथै कार्यकर्तालाई सर्तकता अपनाइरहेका छन् ।

मौन अवधिमा आर्थिक चलखेलका खवर सुनिएपनि कुनैपनि आधिकारिक प्रमाणहरू फेला परेका छैनन् । निर्वाचन आयोगले तोकेका खर्च गर्ने रकम सहितका विभिन्न मापदण्डलाई भने सबैजसो दलले पालना गरेको देखिएको छैन् । मेयर,गाउँपालिका प्रमुख र वडा अध्यक्ष, सदस्यले खर्च गर्नुपर्ने आर्थिक सिमालाई भने दलले नाघेको देखिन्छ । मौन अवधिलाई दलले खतराका घण्टीको रुपमा लिने गर्दछन् । आर्थिक तथा अन्य प्रलोभनबाट समेत लामो समयसम्म बनाएको पकट गुम्ने समयका रुपमा समेत दलले लिने गर्दछन् ।

जिल्लाभर निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा मौन अवधिमा कुनैपनि दलले उल्लघन गरे उम्मेदवारी नै रद्ध सहित जरिमाना समेत तोकिएकाले पनि उम्मेदवार सचेत देखिएका छन् । मौन अवधि सामाजिक सञ्जाललाई समेत लागु हुने भएपनि त्यसको म्याग्दीमा पालना भएको देखिएको छैन् । विभिन्न राजनीतिक दलले एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका केही पोष्ट देखिएको छ । आगामी आइतबार हुने निर्वाचनमा स्थानीय तहको निर्वाचनका लागि ७१ हजार ४६३ मतदाता कायम गरेको छ । मौन अवधिको पालना नगरी निर्वाचन आचारसंहिता विपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचारप्रसार गरेको पाइएमा जोकोहीलाई निर्वाचन आयोग ऐन २०७३ बमोजिम कारबाही हुने मुख्य निर्वाचन कार्यालयले चेतावनी दिएको छ ।

जिल्लाको कुल मतदाता मध्ये बेनी नगरपालिकामा १८ हजार ३४५, मंगला गाउँपालिकामा ११ हजार ५८, मालिका गाउँपालिका १० हजार ६४४, धौलागिरि गाउँपालिका ९ हजार ३३४, रघुगंगा गाउँपालिका ११ हजार ५६३ र अन्नपुर्ण गाउँपालिकामा १ जना तेस्रो लिङ्ग सहित १० हजार ५१९ मतदाता रहेका छन् । निर्वाचनको मिति नजिकदैं जाँदा निर्वाचनको तयारी समेत तिब्र गतिमा अगाडी बढेको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लाभर ७२ मतदानस्थल र १०२ केन्द्र कायम गरिएको छ । वडास्तरमा रहेको जनसंख्याको आधारमा केन्द्र तोकिएको कार्यालयले जनाएको छ । ०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा जिल्लामा कुल मतदाता ५६ हजार ५५३ रहेको थियो ।