बेनी नगरपालिका–९ घतानस्थित नेप्टेचौरमा शुक्र,बार राति नेपाली कांग्रेस र नेकपा एमाले समर्थित यूवा विच झडप भएको छ । राष्ट्रिय मावि मतदान केन्द्र नजिक शुक्रबार राती नेकपा एमाले समर्थति यूवा शंकल चोखाल माथि हातपात भएको केही समय पछाडी नेकपा एमालेका यूवाहरूको समुहले इच्छा महिला बचत तथा ऋण सहकारी संस्था, नेपाली कांग्रेसको वडा सम्पर्क कार्यालयमा तोडफोडका साथै पार्किङ्ग गरिएका दुईवटा मोटरसाईकलमा आगजनी गरेका छन् ।

सदरमुकाम बेनीबाट पुगेका यूवा संघका कार्यकर्ताले कांग्रेसको वडा सम्पर्क कार्यालय, महिला सहकारी र कार्यालय परिसरमै पार्किङ्ग गरेको मोटरसाईकल समेत जलाइदिएको कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चक्र केसीले बताए । ‘यो सुनियोजित आक्रमण हो, सामान्य विवाद लगत्तै सबै घर फर्किएको अवस्थामा कार्यालय भित्र रहेकालाई घेरा हालेर आक्रमण गरिएको छ’ केसीले बेनीअलाइनलाई भने ।

उनले कार्यालय परिसरमा राखिएको मोटरसाईकल जलाउनुका साथै चारैतीरबाट आक्रमण गर्नुलाई ठुलै योजना बनाएर आक्रमण गरिएको बताए । सम्पर्क कार्यालय नजिक रहेको रविन्द्र कार्कीको ना ४५ प १६९७को मोटरसाईल समेत आगजनीबाट पुर्ण रुपमा जलेर नष्ट भएको छ । साथीको जन्मदिन मनाउन बेनीबाट गएका अनमोल केसीको ध १ प २४७८ नम्बरको मोटरसाईकलमा समेत आगजनी गरिएको छ ।

त्यस्तै ग ७ प १६३३ स्कुटर तोडफोड र बा २३ प २२३ को मोटरसाईकलमा आगजनीबाट आंशिक क्षती पुगेको छ । यता नेकपा एमालेमा आवद्ध यूवाहरूले आक्रमण भएपछि प्रतिवाद गरिएको बताए । झडपको क्रममा यूवा संघका जिल्लास्तरका नेताहरूले रवी कार्कीको नाममा लाइसेन्स प्राप्त २.२ क्यालिबरको टुटु राईफल प्रहरीलाई बुझाएको दावी गरेका छन् । एमालेका यूवाहरूले हतियारले हान्ने प्रयास भएको दावी गरेपनि कांग्रेसका यूवाहरूले भने त्यसलाई प्रतिवाद गरेका छन् ।

आफ्नो साथीलाई आक्रमण गरेपछि प्रतिरक्षाका लागि यूवाहरु एकजुट भएको बताउँदै हतियार तेर्साएपछि जफत गरिएको यूवाहरुको भनाई छ । घटनास्थल आसपासका बासिन्दा समेत त्रसित भएका छन् । निर्वाचनको मुखमा सहकारीलाई समेत क्षती पुग्ने गरी भएको आक्रमणको महिलाले समेत आपत्ती जनाएका छन् । घटनाका करिव ८ सय महिलाहरुको संलग्न रहेको इच्छा महिला सहकारीको ढोका तोडफोड गरेर भित्र रहेका बचत तथा ऋण खाता सहित महत्वपुर्ण कागजातहरू गायव भएको सहकारीमा आबद्ध महिलाले जनाएका छन् ।

महिलाले घटनाको छानविनको माग समेत गरेका छन् । सुतिरहेको अवस्थामा आक्रमण गरेपछि नेपाली कांग्रेसका म्याग्दी काठमाण्डौ सम्पर्क समितिका चित्र बहादुर केसी, जिल्ला कार्यसमिति सदस्य अमृतमान शेरचनका साथै डम्बर केसी र पलमान श्रेष्ठले कार्यालयको पछाडीको ¥यालबाट ज्यान जोगाए पनि रविन्द्र कार्की सम्पर्कमा आएका छैनन् । उनका समर्थकले बेपत्ता बनाइएको आरोप लगाएपनि यूवा संघले भने त्यसको प्रतिवाद गरेको छ । घटनाले नेप्टेचौरबासी त्रसित भएका छन् । प्रहरीले अनुसन्धान सु्रु गरेको नायव उपरिक्षक बशुन्धरा खड्काले बताईन् । उनका अनुसार प्रहरीको सुरक्षा फौज समेत थप गर्ने तयारी भइरहेको छ ।