बेनी नगरपालिका–९ नेप्टेचौरका ५६ वर्षीय रुद्रबहादुर चोखाललाई आइतबार हुन लागेको स्थानीय तह निर्वाचन विशेष महत्वको लागेको छ ।यसअघिको संसदीय र स्थानीय निकायको निर्वाचनको मतदानमा सहभागी भएका उनी स्थानीय तहमा सक्षम र योग्य नेतृत्वको आवश्यकता देख्छन्।
जलजला गाउँपालिका–३ का २७ वर्षीय रवीन जिसी मतदान गर्ने समयको ब्यग्र प्रतिक्षामा छन्।

“बिहीबारनै मतदाता परिचयपत्र ल्याइसके” जिसीले उत्साहित मुद्रामा भने “हाम्रोभन्दा पनि विकासका लागि सक्षम, नीति निर्माणका लागि योग्य र अनुभवी उम्मेदवारले भोट पाउँछन् ।”धौलागिरि गाउँपालिका सात ताकमका १९ वर्षीय गणेश सुवेदीले आसन्न निर्वाचनमा पहिलो पटक मतदान गर्दै छन् । विकास निर्माणलाई गति दिन र असल नीति नियम बनाउन जनताको समस्यालाई बुझेको उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने सुवेदीको बुझाइ छ ।

चोखाल, जिसी र सुवेदीजस्तै पहिलो चरणअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीका धेरैजसो मतदाता सक्षम उम्मेदवारको पक्षमा देखिएका छन् । बीस वर्षसम्म स्थानीय निर्वाचन नहुँदा गाउँ बस्तीको विकास नभएको आम सर्वसाधारणको भनाइ छ ।
त्यसैले सबै यो या त्यो दल नभनी विकास गर्न सक्ने उम्मेदवारलाई जिताउन चाहन्छन् । जनप्रतिनिधिको अभावमा करिब डेढ दशकसम्म सुस्ताएको विकास र ओझेलमा परेको जनताको समस्यालाई अब चुनिने जनप्रतिनिधिले समाधान गर्ने बेनपा–६ का तुलबहादुर भण्डारीको अपेक्षा छ ।

“अबका जनप्रतिनिधि जनताको तीव्र विकासको आकांक्षाको नेतृत्वकर्ता, सुशासनको पहरेदार र नीति निर्माता पनि हुन्” भण्डारीले भने “भोट पाएर केन्द्रमा जाने चुनाव यो होइन ।” मतदाताले स्थानीय तहको चुनावलाई संसदीयभन्दा बढी महत्व दिएका छन् । अधिकार सम्पन्न स्थानीय तहको नेतृत्वमा सक्षम, इमान्दार, योग्य व्यक्ति पुग्नुपर्छ भन्ने आम सर्वसाधारणको बुझाइ तथा धारणा छ ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा उम्मेदवारले विकास, संवृद्धि र सुशासनको विषयलाई चुनावी मुद्दा बनाएका छन् । स्थानीय प्राकृतिक र मानवीय स्रोत पहिचान तथा परिचालन गरेर पूर्वाधार विकास गरी गाउँ नगरलाई सम्बृद्ध बनाउने उम्मेदवारले मतदातालाई आश्वासन बाँडेका छन् । केन्द्रीयस्तरमा आफू सम्बद्ध पार्टीले तयार पारेको घोषणापत्रसँगै मतदाता रिझाउन स्थानीय मुद्दालाई प्राथमिकता दिएका हुन् ।
सडक नपुगेको ठाउँमा सडक पु¥याउने, निर्माण भएका सडकलाई स्तरवृद्धि गर्ने, सामुदायिक भवन, घरघरमा खानेपानी, विद्युत्, सञ्चार सुविधाको व्यवस्था मिलाउने उम्मेदवारले भोट माग्दा मतदातालाई दिने साझा आश्वासन बनेको छ । रासस