आईतबार पहिलो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा सबै तयारी पुरा भएको छ ।एक नगरपालीका र पाँच वटै गाउँपालीकाको सबै मतदान स्थलहरुमा मतदानका लागि सबै पुर्वाधार निर्माण भएको छ । मतदाता परिचयपत्र असी प्रतिशत वितरण भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।

उहाँका अनुसार मतदान केन्द्रहरुमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले ब्यवस्थापकीय र समन्वयको तयारी पुरा गरेका छन् । बिहीबार मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले शनिबारसम्म मतदाता परिचयपत्र वितरण गरेका थिए ।तस्विर सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका र अघिल्लो निर्वाचनमा मतदान गरेका केही मतदाताहरुको यसपाली परिचयपत्र नआउँदा निराश भएका छन् । प्राबिधिक कारण एकाध मतदाताको परिचयपत्र नआएको धौलागिरी गाउँपालीका ७ स्थित ताकम मावि मतदान केन्द्रका मतदान अधिकृत बाबुराम शर्माले बताउनुभयो ।

१ नगरपालीका र ५ गाउँपालीका रहेको म्याग्दीमा ७२ मतदान स्थल र १०२ मतदान केन्द्र रहेका छन् । ७१ हजार ४६३ जना मतदाताले निर्वाचनमा मतदान गर्दैछन् । २३७ पदका लागि ६०६ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा सर्तकता अपनाइएको छ । एउटा मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी र दुई जनाका दरले स्वमसेवक परिचालन भएका छन् ।

मतदान स्थलको पहिलो घेरामा जनपथ, दोस्रोमा शसस्त्र र तेस्रोमा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । म्यादी प्रहरीले भिड र लाईन ब्यवस्थापनमा खटिनेछन् । मतदान स्थलहरुलाई सामान्य, संवेदनशिल र अति संवेदनशिल बर्गमा बिभाजन गरेर सुरक्षा योजना लागु गरीएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो । मतदानका लागि सहर बजारमा बसोबास गर्दै आएका मतदाताहरु समेत आफ्नो जन्मथलोमा फर्कीएका छन् । मतदाताहरु मतदानका लागि ब्यग्र प्रतिक्षामा छन् । सन्तोष गौतम

विज्ञापन