दुईदशक पछाडी हुन लागेको स्थानीय तहको निर्वाचन म्याग्दीमा निर्धारित समयमै सुरू भएको छ । विहान ७ वजेदेखि शान्तिपूणरुपमा मतदान कार्य भईरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७१ हजार ४६३ जनता मतदाता, एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीका सबै तहमा शान्तिपूर्णरुपमा निर्वाचन भइरहेको छ । मतदाताको सुरक्षाका लागि प्रहरी, नेपाली सेना र शसस्त्रले सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रसम्म सुरक्षा दिइरहेको छ ।

नगर र गाउँपालिकाका गरी ४५ वटा वडा रहेको म्याग्दीमा २ सय ३७ जना जनप्रतिनिधि चयनका लागि निर्वाचन हुँदै छ । २३७ पदका लागि ६०६ जना उम्मेदवारहरु चुनावि मैदानमा छन् । बेनी नगरपालिका वडा नं २ को हंशवाहिनी आधारभूत मावि मतदान केन्द्रमा ९४ वर्षिय रणवहादुर सुवेदी र बेनी नगरपालिका वडा नं ७ मा ९३ बर्षिया नर बहादुर बानियाँले समेत मतदान गरेका छन् ।

जेष्ठ नागरिक, अपाङ्ता भएका, विरामीलाई पहिलो प्राथमिकता दिइएको छ । निकै उत्साहजनक रुपमा सहभागिता रहेको मतदाताले संविधान कार्यान्वयन र विकासको लहर फैलने अपेक्षा गरेका छन् । मतदान केन्द्रमा मतदातालाई शिक्षा समेत दिइएको छ । अति संवेदनशिल मानिएका मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । मतदातालाई सहज तरिकाले मतदानको ब्यवस्था मिलाउन दलका उम्मेदवार समेत सक्रिय छन् ।