आइतवार सम्पन्न संघीय संरचना अनुसारको पहिलो स्थानीय तहको निर्वाचनमा मतदाताहरुले आँफूले मत दिएर निर्वाचित गराएका जनप्रतिनिधिहरुसंग शान्ति, विकाश र समृद्धिको अपेक्षा गरेका छन् ।२० वर्ष पछि भएको स्थानीय तहको निर्वाचन ऐतिहाँसिक भएको र निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिहरुसंग धेरै नै अपेक्षा रहेको मतदाताहरुले प्रतिक्रिया दिएका छन् ।

मतदान गर्नका लागि बेनी नगरपालिका वडा नं २ खवराको हंशवाहिनी आधारभूत विद्यालयको मतदान केन्द्रमा भेटिनुभएका ९४ वर्षिय रणवहादुर सुवेदीले आँफूले मत दिएर चुनेका प्रतिनिधिले शान्ति र गाउँमा मेलमिलाप कायम हुने खालका कामहरु गरिदिए आँफू खुसी हुने बताउनु भयो । त्यसैगरी अर्जुन मावि भकुण्डेको मतदान केन्द्रमा भेटिनुएका ९४ वर्षिय भीमप्रसाद शर्माले पनि विगतमा भएको नराम्रो र अशान्तिपूर्ण वातावरण अव भोग्न नपरे पुग्ने प्रतिक्रिया दिनुभएको थियो ।

बेनपा १ रत्नेचौरको भानु मावि मतदान केन्द्रबाट मतदान गर्नुभएका ८६ वर्षिय सोमवहादुर महतले भोट दिन किन छुटाउने भनेर आएको र मर्ने बेलामा गाउँले दाजुभाइ मिलेर बसेको,उन्नती प्रगती गरेको देख्न पाए हुन्थ्यो भन्ने चाहना रहेको बताउनुभयो ।युवा युवतीहरुमा भने संविधानले प्रदान गरेका हक अधिकारहरुको निर्वाध रुपमा उपभोग गर्न पाउने वातावरण निर्माण,आफ्नै गाउँ,शहर र देशमा नै रोजगारीको व्यवस्था र समृद्ध गाउँ,समृद्ध नगर र समृद्ध देशको सपना साकार पार्न यो निर्वाचन उपयोगी भैदिओस् भन्ने चाहना रहेको छ ।

विगतमा जेभयो भयो, अव त्यसलाई विर्सिएर नयाँ सोच र उत्साहाका साथ समृद्धिको यात्रामा लम्कनु पर्ने युवाहरुको भनाइ रहेको छ । बेनपा २ का युवा रोचक शर्माले अव पनि जनप्रतिनिधिहरुले विगतकै जस्तो प्रवृत्ति देखाउने हुन् भने अवका युवा चुप लागेर नवस्ने बताउँदै समयको मागलाई वुझ्न सक्ने र विकास र समृद्धिका सम्भावनाहरुलाई चिन्न सक्ने व्यक्ति छनोट गरेर आफूले मतदान गरेको प्रतिक्रिया दिनुभयो ।त्यसैगरी पहिलो पटक मतदान गरेकी २३ वर्षिया सर्मिला घर्तीले महिला सहभागितापूर्ण विकासका योजना,रोजगारी,आपसी सद्भाव र समृद्धि नै यो निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिको मुख्य प्राथमिकतामा पर्नुपर्छ भन्नुभयो । धु्रबसागर शर्मा