म्याग्दीमा ७० र मुस्ताङमा ८० प्रतिशत मत खस्यो

0
207

स्थानीय तहको पहिलो निर्वाचन आइतबार म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान गरी सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ ।कुल ७१ हजार ४ सय ६३ जना मतदाता रहेको म्याग्दीका सबै तहमा गरी करिब ७० प्रतिशत मत खसेको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लाको बेनी नगरपालिकासहित ६ वटा स्थानीय तहमा उत्साहजनक रुपमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको उहाँले बताउनुभयो । प्रारम्भिक जानकारीअनुसार बेनी नगरपालिकामा ७१ दशमलब ७४ प्रतिशत अर्थात् १३ हजार १ सय ६१ मत खसेको बताइएको छ ।

यसैगरी गाउँपालिकाका विभिन्न वडाहरुमा रहेका मतदान केन्द्रबाट समेत गाउँपालिकाको केन्द्रमा मतपेटिका आउन थालेको सम्बन्धित गाउँपालिकाका निर्वाचन अधिकृतहरुले बताएका छन् ।४५ ओटा वडा रहेको म्याग्दीमा २ सय ३७ जना जनप्रतिनिधिहरु चयनका लागि निर्वाचन भएको हो । २३७ पदका लागि ६०६ जना उम्मेदवारहरु चुनाबी मैदानमा उत्रिएका छन् । त्यस्तै नगरपालिकाको सबै मतपेटिकाहरु सदरमुकाम बेनी आइसकेपछि सर्वदलीय वैठकबाट निर्णय गरी मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृतले बताउनुभयो ।

यसैबीच हिमालपारीको जिल्ला मुस्ताङमा पनि शान्तिपूर्ण रुपमा मतदान सकिएको र करिब ८० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । पाँचओटा गाउँपालिका रहेको मुस्ताङमा अहिले गाउँपालिकाको केन्द्रमा मतपेटिकाहरु आउने क्रम शुरु भएको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताउनुभयो । सोमबार बिहान ८ बजेदेखि मतगणना शुरु गरिने सर्वदलीय निर्णय भएको उहाँले जानकारी दिनुभयो ।