म्याग्दीको बेनी नगरपालिकामा एमालेको अग्रता, एमाले तीन, कांग्रेस दुई र माओवादी एक ठाउँमा विजयी

0

आइतबार सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनको मतगणना म्याग्दीमा जारीरहेको छ । पछिल्लो मत परिणामअनुसार म्याग्दीको बेनी नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रमोद श्रेष्ठ १ हजार ६२ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हरिकुमार श्रेष्ठले ८१२ मत पाएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उपप्रमुख पदका उम्मेदवार सन्जु थापा बरुवाल ९५१ र नेकपा माओवादी केन्द्रका ज्योती लामिछानेलाई ६०८ मत प्राप्त भएको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार वडाध्यक्षका एमाले उम्मेदवारलाई २९२ र कांग्रेस उम्मेदवारको २८५ मत रहेको छ । बेनी नगरपालिकामा काँग्रेस–माओवादी र एमाले–राप्रपा गठबन्धन गरी निर्वाचनमा भाग लिएका हुन् ।त्यस्तै बेनपा–१ रत्नेचौरमा एमालेको वडाध्यक्षका उम्मेदवार टेकबहादुर रावल, अन्नपूर्ण गाउँपालिका–१ दोवामा दिलिपकुमार गर्बुजा र ३ नम्बर वडा दानामा नरसिङबहादुर पूर्जा नेतृत्वको प्यानल नै विजयी भएको छ ।

सोही गाउँपालिकाको २ नम्बर वडा भूरुङ–तातोपानीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार ओमबहादुर फगामी नेतृत्वको प्यानल विजयी भएको छ । मालिका गाउँपालिका–१ निस्कोटमा नेपाली काँग्रेसका उम्मेदवार टंक पुन र रघुगंगा गाउँपालिका–१ बेगखोलामा बिलबहादुर फगामीको प्यानल विजयी भएको छ ।अन्नपूर्ण र मङ्गला गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा एमाले तथा रघुगंगा र मालिका गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् । धौलागिरि गाउँपालिकामा भने शुरुको १ सय मत गणना भएको भनिए पनि त्यसपछिको अवस्थाबारे बुझ्न पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकिरहेको छैन । प्रताव बानियाँ