दुई दशकपछि भएको स्थानीय तह निर्वाचनको मतगणना धमाधम चलिरहेको छ । र, मतपरिणाम पनि आइरहेको छ । यसैक्रममा सिन्धुपाल्चोक र धादिङमा ८० र ८६ वर्षका जेष्ठ नागरिक जनप्रतिधिनि चुनिएका छन् । सिन्धुपाल्चोकमा ८० वर्षीय वृद्ध वडाध्यक्ष प्राप्त मतपरिणामअनुसार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् । खड्का नम्बर १ बाट २६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई एक सयभन्दा बढी मतले पछि पारेका हुन् । उनी यसपटकको स्थानीय तह निर्वाचनमा निर्वाचित हुने सबैभन्दा दोस्रो वयोवृद्ध उम्मेदवार हुन् ।

धादिङमा ८६ वर्षीय वृद्धा वडासदस्य निर्वाचित यस्तै धादिङको थाक्र गाउँपालिका–५ दामेचौरबाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा दलित महिला सदस्य पदमा विजयी भएकी छन् । १२ वर्ष अघिबाट सामाजिक सुरक्षा वृद्ध भत्ता खाएकी विश्वकर्मा २० वर्षपछि भएको स्थानीय निर्वाचनमा वडा कमिटि सदस्यमा विजयी भएकी हुन् । थाक्र गाउँपालिका वडा नं. ५ मा दलित महिलातर्फ विजयी भएकी चन्द्रमायाले ४९५ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सबिना बिकले ४७३ मत पाएकी छन् ।