‘मैले मतदातालाई दिएको बाचा पुरा गरेरै छाड्छु’: श्रेष्ठ

0

म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले चुनावी अभियानको क्रममामतदातालाई दिएको बाचा पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । बेनी नगरपालिकाको पहिलो मेयरमा निर्वाचित भएलगत्तै श्रेष्ठले नगरपालिकालाई सुन्दर र नमुना बनाउन आफु्ँले काम गर्ने बताए ।

‘स्थानीय तहको निर्वाचन नै सबैको जित हो ।मैले नगरबासीको हितमा काम गर्ने गरी योजना बनाइसकेको छु’ उनले भने । ५ हजार ६ सय ७९ मत ल्याएर श्रेष्ठ प्रमुखमा विजयी भएका श्रेष्ठले मतदातालाई धन्यवाद दिदाँ भावुक भएका थिए । मनोनयन दर्ता लगत्तै राज्यले उपलब्ध गराउने सेवासुविधालाई नगरबासीको हितमा प्रयोग गर्ने घोषणा गरेका श्रेष्ठले नगर क्षेत्रका सबै समस्यालाई केन्द्रित गरेर अगाडी बढ्ने बताए । उनले मतदाताको घरदैलोमै पुगेर समस्या बु्झ्ने प्रयास गरेको बताउँदै नगरबासीको मत कुनैपनि हालतमा खेर जान नदिने बताए ।

श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोद श्रेष्ठले ५ हजार ६ सय ३४ मत प्राप्त गरेका थिए। उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्जु थापा बरुवालले ३ हजार ९ सय ९५ मत प्राप्त गरी विजय भईन् । बरुवालका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ज्योती लामिछानेले ३ हजार ९ सय ६१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले र राप्रपाले तालमेल गरी चुनाब लडेका थिए। यसैगरी बेनी नगरपालिकाको १, २, ४, ५, ६, ७, ८ र ९ वडामा एमालेले जितेको छ भने बेनपा–३ मा स्वतन्त्रका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेका छन् । बेनपा १० पात्लेखेतमा नेपाली काँग्रेसले वडाध्यक्षसहित सबै पद जितेको छ । कुल १८ हजार ३ सय ४५ मतदाता रहेको बेनी नगरपालिकामा १३ हजार १ सय २८ मत खसेको थियो । नगर प्रमुखमा आफ्नो पार्टी निर्वाचित भएपछि नेपाली काँग्रेसले सदरमुकाम बेनीमा खुसियाली मनाउनुका साथै विजय जुलुस निकालेको थियो ।