गत वैशाख ३१ गते भएको म्याग्दीका स्थानीय तहको निर्वाचनको मतगणना आज विहान सम्पन्न भएको छ ।
म्याग्दीका एक नगरपालिका र पाँच गाउँ पालिका सहित ६ वटा स्थानीय तहमा भएको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख सहित अन्नपूर्ण, मालिका र रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् भने मंगला र धौलागिरि गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचिन भएका जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख केदारनाथ पौडेलले जानकारी दिनुभएको छ ।

बेनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले ५ हजार ६७९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका प्रमोद श्रेष्ठले ५ हजार ६३४ मत प्राप्त गुर्नभएको छ । त्यसैगरी अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसका क्या. डमवहादुर पुन गाउँ पालिका प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाले ३ हजार ३२० मत प्राप्त गर्नुभएको छ भने प्रतिष्पर्धी नेकपा एमालेका नारायण पुनले ३ हजार १ सय २७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका भववहादुर भण्डारी निर्वाचिन हुनुभएको छ ।

भण्डारीले ४ हजार ४३४ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमाले र नेकपा माओवादी(केन्द्र) को तर्फवाट अध्यक्षका उम्मेदवार खिमवहादुर शाहीले २हजार ७३० मत प्राप्त गर्नुभएको रघुगंगा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइकेलले जानकारी दिनुभएको छ । त्यसै गरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै कमला तिलिजाले ३ हजार ८४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी एमाले–माओवादी केन्द्रका हरि भण्डारीले २ हजार ६६२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै मालिका गाउँपालिकाको अध्यक्षमा पनी नेपाली कांग्रेसका श्रीप्रसाद रोका २ हजार ७०६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिष्पर्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले २ हजार ६२२ मत प्राप्त गर्नुभएको छ ।
उता पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन विजयी हुनुभएको छ । उहाँले २ हजार ४६० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका रिमप्रकाश थापाले २ हजार १६८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै मंगला गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार सतप्रसाद रोका निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । धु्रबसागर शर्मा