राप्रपाले बेनीमा विजय ¥यालीसहित खुशियाली मनायो

0
208

राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले बिहीबार सदरमुकाम बेनीमा विजयउत्सव ¥यालीको आयोजना गरी खुशियाली मनाएको छ । स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरी बेनी नगरपालिकामा चुनाब लडेको राप्रपाले उपमेयर पदमा जित हासिल गरेपछि विजय ¥यालीसहित खुशियाली मनाएको हो ।

बेनी नगरपालिकाको प्रथम उपमेयरमा निर्वाचित राप्रपाका जिल्ला सहसचिव सन्जु थापा बरुवालसहितको टोलीले बेनीबजारमा बाजागाजाको साथमा बजारको परिक्रमा गरेको थियो । सोही अवसरमा नवनिर्वाचित उपमेयर थापालगायतको टोलीले आफु र पार्टीलाई अमुल्य मत दिएर जिताएको भन्दै मतदातालाई बधाईज्ञापन गर्दै शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा गाउँगाउँबाट राप्रपा समर्थित नेता, कार्यकर्ता र शुभेच्छुकहरुले सहभागीता जनाएका थिए ।

बजार परिक्रमापछि राप्रपा पार्टी कार्यालय अगाडि आयोजना गरिएको कार्यक्रममा बोल्दै भूपू राज्यमन्त्री एवं राप्रपाका केन्द्रीय सदस्य भीमप्रसाद गौचनले देशको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एमाले र राप्रपाबीचको गठबन्धन कायमै राखिने बताएका छन् । उनले नगरपालिकाको निर्वाचनमा केही झिनो मतान्तरले गठबन्धन पार्टी पराजित हुन पुगे पनि जिल्लाको विकास निर्माणमा पार्टीको ध्यानकेन्द्रीत गरिने बताए ।

कार्यक्रममा नवनिर्वाचित उपमेयर सन्जु बरुवालले चुनाब प्रचारप्रसारका क्रममा गरिएका वाचाहरु पुरा गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो अमुल्य मत दिएर जिताउने आम नगरवासीलाई धन्यवाद ज्ञापन गरेकी छिन् । राप्रपा जिल्ला अध्यक्ष विरबहादुर थापाको अध्यक्षता, सचिव दलकेशर बानियाँको स्वागत र प्रवक्ता हरिप्रसाद शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष एकेन्द्रबहादुर रावलले मन्तव्य राखेका थिए ।

झण्डै २० वर्षपछि भएको स्थानीय तहको पहिलो निर्वाचनका लागि म्याग्दीमा राप्रपाले एमालेसँग तालमेल गरी चुनाब लडेको हो । बेनी नगरपालिकाको उपमेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएकी सन्जु बरुवालले ३ हजार ९९५ मत ल्याएर उपमेयरको चुनाबमा विजयी हासिल गरेकी थिइन् ।