नेकपा एमाले मंगला गाउँपालिका सङ्गठन कमिटीको आयोजनामा बिहीबार विजयउत्सव मनाइएको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनमा मंगला गाउँपालिकामा नेकपा एमालेले विजयी हासिल गरेपछि गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा विजयउत्सवको ¥यालीको आयोजना गरी खुशियाली मनाइएको हो ।

गएको आइतबार सम्पन्न गाउँपालिकाको निर्वाचनबाट अध्यक्ष तथा उपाध्यक्ष पदमा एमालेका उम्मेदवारहरु शतप्रसाद रोका र सिर्जना केसीले अत्यधिक मतले विजयी हासिल गरेपछि बाजागाजासहितको कार्यक्रम गरिएको एमालेले जनाएको छ । गाउँपालिकाको अध्यक्षमा रोकाले ३ हजार ६१५ र उपाध्यक्षमा केसीले ३ हजार ७०२ मतसहित विजयी हासिल गरेका हुन् ।

मंगला गाउँपालिकाको विभिन्न वडा र गाउँगाउँबाट आएका एमालेका स्थानीय नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलगायत सयौंको सङ्ख्यामा बाबियाचौर बजार परिक्रमा गर्नुका साथै मतदाताहरुलाई भेटेर धन्यवाद ज्ञापन गरिएको थियो । सोही अवसरमा विजयी उम्मेदवारहरुले कार्यकर्ता र गाउँपालिकावासीहरुसँग बधाई तथा शुभकामना एकापसमा साटासाट गरेका थिए ।

विजयउत्सवको ¥यालीलाई सम्बोधन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले अब गाउँपालिकाको विकास निर्माणमा केन्द्रीत हुन पार्टी कमिटीलाई निर्देशन दिएका छन् । उनले स्थानीय तहको निर्वाचनमा एमालेले देशको धेरै ठाउँमा जित्ने दावी गर्दै निर्वाचनपछि देश विकासको नेतृत्व एमालेको हातमा आउने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य थापा, एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र सांसद तथा पूर्वराज्यमन्त्री नरदेवी पुनले विजयी उम्मेदवार र मत दिएर जिताउने जनतालाई धन्यवाद ज्ञापन गरेका छन् । एमाले मंगला गाउँपालिका संयोजक प्रेमप्रकाश रेग्मीको अध्यक्षता र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष पदमलाल सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शतप्रसाद रोकाले प्रतिबद्धता जनाएका थिए । एमालेले मंगलाको ४ नम्बर वडा बराङ्जाबाहेक सबै ठाउँमा अत्यधिक मतसहित विजय हासिल गरेको छ ।

यसैबीच पश्चिम धौलागिरि गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा विजयी एमालेका थमसरा पुन र रेशम छन्त्यालसहितका उम्मेदवारहरुले विजयउत्सव मनाएका छन् । उनीहरुले पनि बाजागाजासहितको कार्यक्रम गरी गाउँगाउँमा मतदाताहरुलाई भेटेर धन्यवाद दिएका छन्भने स्थानीयले फुलमाला, अबिर, खादा र टिका लगाएर हर्षोल्लासपूर्वक स्वागत गरेका थिए ।