आइतवार बिहानै कालिगण्डकीले एकजना पुरुषलाई बगाएको खबर जिल्ला प्रहरी कार्यालय म्याग्दीमा टेलिफोनबाट आइपुग्यो ।  कालिगण्डकीमा बिहानै नुहाउन गएका म्याग्दीको मालिका गाउँपालिका-४ ओखरबोट घर भई हाल बेनी नगरपालिका-८ मा बस्दै आएका ५४ वर्षीय पकबहादुर घर्ती मगरलाई बगाएको खबर आएपछि प्रहरीको टोली तत्कालै परिचालित भयो । 

बेनी नगरपालिका-८ स्थित कालिगण्डकीमा नुहाउने क्रममा चिप्लिएर लडेका घर्तीलाई प्रहरी घटनास्थलमा पुग्दा बगाएर दुई सय मिटर तल पुर्‍याइसकेको थियो । 

कालिगण्डकीले बगाएर लाँदै गरेको अवस्थामा पुगेको प्रहरीको टोलीले घर्तीलाई उद्धार गरेर ज्यान बचाउन सफल भएको हो । उद्धार गरिएका उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याएर आफन्तको जिम्मा लगाइएको छ।