स्थानीय निर्वाचनमा दुई दशकदेखि पालो पर्खिरहेका पाका आकांक्षीले उम्मेदवारीमा हकदाबी गरे पनि जिल्लाका तीन गाउँपालिकाको नेतृत्व युवाको हातमा आइपुगेको छ । पश्चिम भेगका मंगला, मालिका र धौलागिरि गाउँपालिकामा युवा उम्मेदवार विजयी भएका हुन् । मालिकाका प्रमुख श्रीप्रसाद रोका २७, उपप्रमुख खरमाया बिटालु ३२, धौलागिरिका उपप्रमुख रेशम छन्त्याल २९ र मंगलाकी उपप्रमुख सिर्जना केसी २९ वर्षका छन् ।

वाणिज्यशास्त्रमा स्नातक रोका यहाँका गाउँपालिकामा प्रमुख–उपप्रमुख पदमा निर्वाचितमध्ये जिल्लाकै कान्छा हुन् । मालिकाका प्रमुख उनी कांग्रेस र उपप्रमुख खरमाया एमाले हुन् । सामाजिक कार्यमा पिताको सक्रियताले प्रभावित भएर राजनीतिमा आएको बताउने रोका निर्माण र यातायात व्यवसायमा संलग्न छन् । ‘बुवा मेरो प्रेरणा हो । गाउँका सडक, खानेपानी, कृषि आदि समूहमार्फत सामाजिक काममा सक्रिय हुँदै म पनि राजनीतिमा आएँ,’ उनले भने, ‘गाउँको पछौटेपन घटाउन मेरो प्रयास रहनेछ ।’

बिहीबार सार्वजनिक मत परिणामअनुसार मंगला गाउँपालिकाको उपप्रमुखमा निकटतम प्रत्याशीभन्दा भारी अन्तरले विजयी केसीले स्नातकसम्मको अध्ययन पूरा गरेकी छन् । मानव अधिकारसम्बन्धी गैससबाट सामाजिक कामको अनुभव लिएकी उनी पछिल्ला दिन सिंगा तातोपानीमा होटल व्यवसायमा समेत संलग्न छिन् । एमाले समर्थक भए पनि उनी चुनावअघि पार्टीका कुनै संगठनमा आबद्ध थिइनन् । पार्टीले उम्मेदवार चयन गर्दा भूगोल र जातीय सन्तुलन मिलाउन शिक्षित, बोल्न र नेतृत्व गर्न सक्ने महिला खोजी गर्दा केसी उम्मेदवार छानिएकी हुन् ।

‘निर्वाचन गाउँपालिकाको संगठनात्मक एउटा स्वरूप मात्र हो । स्थानीय सरकारको संरचनात्मक जग राख्न चुनौती छ,’ उनले भनिन्, ‘कानुनी संरचनामार्फत स्रोत व्यवस्थापन, कृषि र शिक्षासमेतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छु ।’ नवनिर्वाचित जनप्रतिनिधि बस्ने कुर्सीसमेत आफंैले व्यवस्था गर्नुपर्ने अवस्थाको गाउँपालिका आन्तरिक स्रोतसाधनविहीन भएकाले सुरुमा संगठनात्मक तथा संरचनात्मक जग राख्नु नै महत्त्वपूर्ण हुने उनको बुझाइ छ ।

गैरसरकारी संस्थाको जागिर छाडेर राजनीतिमा होमिएका धौलागिरिका उपप्रमुख छन्त्याल समाजमा राम्ररी भिजेका व्यक्ति मानिन्छन् । उनको बसोबास रहेको क्षेत्रमा क्षत्री, बाहुन र मगर समुदायको बाहुल्य छ । त्यहाँ छन्त्याल अल्पसंख्यक जातिमा पर्छन् । ‘हाम्रो गाउँपालिकामा पूर्वाधार, शिक्षा र स्वास्थ्य धेरै थोकमा काम गर्नुपर्छ, धेरै पछाडि छ,’ एमालेबाट विजयी छन्त्यालले भने, ‘हामीजस्ता युवा सबै विदेश हान्निने हो भने गाउँलाई कसले हेर्छ भन्ने लाग्थ्यो, अब गाउँ बनाउने जिम्मेवारीमा आइयो । काम गरिन्छ ।’ 

जिल्लाको सबैभन्दा दुर्गम, अशिक्षा र गरिबीले ग्रस्त क्षेत्रलाई सक्षम गाउँपालिका बनाउन निकै चुनौती छ । तर, धौलागिरि, ढोरपाटन, हिडन भिलेज, चुरेन हिमाल र गुरिल्ला ट्रेल जस्ता पर्यटकीय, यार्सागुम्बासहित जडीबुटी, फलफूल खेती र जलविद्युत्को अपार सम्भावना छ, यो गाउँपालिकामा ।

गाउँपालिकाको उपप्रमुखमा निर्वाचित हुने सीमित दलित महिलामध्ये पर्छिन् बिटालु । जिल्लाको दोस्रो सदरमुकामले चिनिएको दरबाङ बजार क्षेत्र समेटिएको मालिका गाउँपालिकाको उपप्रमुखमा उनी २ हजार ६ सय ९१ मत पाएर विजयी भएकी हुन् । सामाजिक परिचालनको अनुभव बटुल्दै गैरसरकारी क्षेत्रबाट राजनीतिमा सक्रिय बिटालुले १२ कक्षासम्मको अध्ययन गरेकी छन् ।

एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी उनी निर्वाचनअघिसम्म लघुउद्यमी संघमार्फत महिला सशक्तीकरणका कार्यक्रममा सक्रिय थिइन् । दलीय स्वार्थभन्दा माथि उठेर सामाजिक न्यायका पक्षमा काम गर्ने उनको प्रतिबद्धता छ । ‘अध्यक्ष र उपाध्यक्ष दुवै युवा भएकाले कामको स्पिड मिल्छ । गाउँपालिका भर्खरै गठन भएकाले सबैखाले संरचना बनाउनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘व्यावसायिक कृषिका कामलाई प्राथमिकतासाथ अघि बढाउने सोचाइ छ । यसो गर्न सके गरिबी निवारण सम्भव हुन्छ ।’ copyright Ekantipur.com