यसरी मनायो हिस्तान स्वास्थ्यचौकीले रजतजयन्ती (फोटोफिचर)

0
267

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमण्डलीमा सञ्चालित हिस्तान स्वास्थ्यचौकीले सोमबार रजतजयन्ती महोत्सव मनाएको छ । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नारासहित स्वास्थ्यचौकी स्थापना भएको २५औं वर्ष पुगेको अवसरमा रजतजयन्ती मनाइएको हो ।

रजतजयन्ती महोत्सव तथा चन्दादाता सम्मान कार्यक्रमको उद्घाटन गर्दै व्यवस्थापिका संसदका सदस्य नवराज शर्माले समाजमा स्वास्थ्य क्षेत्र संवेदनशील भएको हुँदा यसको दीगो विकास गर्नुपर्नेमा जोड दिए । उनले स्थानीयस्तरमा स्वास्थ्यको स्तरोन्नतिका लागि स्थानीय आफै सक्रिय हुनुपर्ने बताउँदै शिक्षा र स्वास्थ्यलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।

सांसद शर्माले स्थानीय तहको पहिलो चुनावबाट निर्वाचित अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै पाँचवर्षे वार्षिक कार्ययोजना बनाएर अगाडि बढ्न सुझाव दिए । उनले औलमा स्वास्थ्यचौकी भवन निर्माणमा साढे २ करोड बजेट पारिएको, कालीगण्डकीमाथी पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको र औलमा सडक पु¥याउन ७ लाख बजेट विनियोजन गरिएको बताए ।

सोही कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष क्याप्टेन डमबहादुर पुनले आफु नेतृत्वको गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउने बताएका छन् । उनले शिक्षालाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता रहेको भन्दै अन्नपूर्ण गाउँपालिकामा आधुनिक सुविधासहितको अस्पताल निर्माण गरिने समेत बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष केशमाया थापामगरले स्थानीयको आवश्यकताअनुसार काम गरिने बताउँदै सबैले स्वास्थ्यको अवस्थाबारे तथा खानपानमा ध्यान दिनुपर्ने बताइन् । जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले जनसहभागीता विना स्वास्थ्यका कुनै पनि गतिविधिहरु सञ्चालन हुन नसक्ने भएको हुँदा जनसहभागीतामा स्वास्थ्यसँग सम्बन्धित गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष गमबहादुर फगामी, रिम स्रोतकेन्द्रका स्रोतव्यक्ति भरत पुन, म्याग्दी अस्पतालका स्टोर प्रमुख लीलानाथ पौडेल, नेकपा एमालेका पार्टी प्रतिनिधि डिलप्रसाद फगामी, टिकोट मावि हिस्तानका शिक्षक वेदनाथ आचार्य, घराम्दी आधारभूत विद्यालयका वृन्दा थापामगर, शिवालय आधारभूत दोसल्लेका अनुस्का पुन, पत्रकार प्रताप बानियाँ, हिस्तान स्वास्थ्यचौकी व्यवस्थापन समितिका पूर्वअध्यक्ष धनबहादुर पुन, सुआहारा म्याग्दीका फिल्ड सुपरभाईजर छवि पूर्जा, समाजसेवीद्वय यामबहादुर पुन र प्रेमधिरे तिलिजाले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा स्वास्थ्यचौकी स्थापनाकालदेखि हालसम्म सहयोग गर्ने चन्दादाता, जग्गादाता, समाजसेवी र स्वयंसेविकालगायतलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा विद्यार्थी, आमा समूहले विभिन्न विधामा गीतसङ्गीत र रोचक नृत्यहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा अन्नपूर्णका नवनिर्वाचित अध्यक्ष डमबहादुर पुनले २५ हजार र उपाध्यक्ष केशमाया थापाले ११ हजार रुपैयाँ स्वास्थ्यचौकीलाई सहयोग गरेका थिए । स्वास्थ्यचौकीका अध्यक्ष मनबहादुर पूर्जाको अध्यक्षता र इन्चार्ज डिल्लीराज आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा अहेब सम्भु श्रेष्ठले स्वागत गरेका थिए । प्रताप बानियाँ