गाउँपालिका अध्यक्षमा दाजु, वडाअध्यक्षमा भाइ

0
195

म्याग्दीमा स्थानीय तहको निर्वाचनबाट एकै घरका दुई दाजुभाइ गाउँपालिका र वडाको अध्यक्षमा निर्वाचित भएका छन् । मंगला गाउँपालिकाको अध्यक्षमा सतप्रसाद रोका र उनका भाइ कबिन्द्र वडा न. ३ को अध्यक्षमा निर्वाचित भएका हुन् । मंगला ३ सातबिसे निवासी रोकाद्वय नेकपा एमालेबाट उमेद्वार बनेका थिए ।

पाँचवटा वडा रहेको मंगला गाउँपालिका अध्यक्षमा निर्वाचित रोकाले तीन हजार ६१५ मत प्राप्त गरेका थिए ।  उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाथोकीले दुई हजार ६८९ मत पाए । वडाअध्यक्षमा निर्वाचित कबिन्द्रले ६०५ मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका यामबहादुर रोकाले ५२७ मत पाएका थिए ।

गाउँपालिका र वडा अध्यक्षमा निर्वाचित रोका दाजुभाइ मतदातालाई धन्यवाद दिन घरदैलोमा व्यस्त छन् । “दाजुभाइनै एकै पटक निर्वाचित हुने संयोगवश अवसर मिल्यो” गाउँपालिका अध्यक्ष सतप्रसादले भने, “दुई जना नै राजनीतिमा सक्रिय भएकाले पार्टीले अवसर दियो । सफल पनि भयौँ । जनताको सेवा गर्छौँ ।”

रोका परिवारका पाँच दाजुभाइ र दुई दिदीबहिनीमध्ये ५७ वर्षीय सतप्रसाद साइँला र ५३ वर्षीय कबिन्द्र कान्छा हुन् । उनीहरूका जेठा दाजु भारतीय सेनामा कार्यरत रहँदा दिवङ्गत भएका थिए ।  माइला र साइँला दाजुहरु गाउँमै खेती किसानी गर्छन् । रोकाका बुवा जंगबिरको ८९ वर्षको उमेरमा निधन भएको थियो ।

रोकाकी १०३ वर्षीया आमा आसीमा छोराहरू गाउँपालिका र वडाको अध्यक्षमा निर्वाचित भएकोमा दङ्ग परेका छिन् । वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा भोट हाल्न रोकालाई मतदान केन्द्रसम्म बोकेर पु¥याइएको थियो । आसीमा सम्भवत जिल्लाकै जेष्ठ नागरिक हुन् ।  गाउँपालिकाको अध्यक्षमा निर्वाचित सतप्रसादले वि.स २०५४ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन बाबियाचौर गाविसको अध्यक्षको उमेद्वार बन्नका लागि १६ वर्षे स्थायी शिक्षक पदबाट राजीनामा दिएका थिए ।

“त्यति बेला काँग्रेससँग तालमेल गर्दा गाविस अध्यक्षमा उमेद्वारी दिन पाइन” रोकाले भने, “त्यो बेलाको प्रयास अहिले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सफल भयो ।” उनकी श्रीमती यशोदा रोका पनि एमालेकै राजनीतिमा सक्रिय छिन् । तीनजना छोरीहरू अमेरिकामा चिकित्सक छन् । वडाअध्यक्षमा निर्वाचित कबिन्द्र वि.स २०४३ को गाउँ पञ्चायतको चुनावमा निर्बिरोध रूपमा गाउँ पञ्चायतको उपाध्यक्ष बनेका थिए । त्यो पदावधि सकिएपछि केही वर्ष विदेश गएका रोका गाउँ फर्कीएपछि पुन राजनीतिमै क्रियाशील भए । मंगला बासीलाई सुशासन, विकास र समृद्धि दिलाउने गाउँपालिका अध्यक्ष रोकाले प्रतिबद्धता जनाए । karbardaily.com