दुईबर्ष अगाडी सुख्खा पहिरोबाट विस्थापित बनेका रघुगंगा गाउँपालिका–२ भगवतीको बैंसरीबासीको स्थायी बसोबासको अझै टुङ्गो लागेको छैन । बस्ती बसाउनका लागि उपयुक्त ठाउँ नभेटिएपछि अस्थायी रुपमा बसोबास गरेका पीडितले उपयुक्त बसोबासको माग गरेका छन् ।

बस्ती पुरेको पहिरोस्थल र गाउँपालिका–३ पिप्लेको राहुपारेमा टहरा बनाएर बसेका पीडितले विस्थापित भएको दुईबर्ष वितिसक्दा समेत राज्य तहबाट कुनै चासो नदिइएको यूवा भिमसेन केसीले बताए ।‘भूकम्पपीडितको परिचय पत्र प्राप्त भएको छ, उपयुक्त बस्ने ब्यवस्थाको खोजीमा अझै भेटिएको छैन’ उनले भने।

पुरानो ठाउँमा बाध्यताले बसोबास गरेकालाई सरकारी निकायबाट जोखिमपूर्ण भएको भनिएपनि बाध्य भएर बसेका पीडितले विभिन्न क्षेत्रबाट प्राप्त राहत र साम्रागी समेत वितरण गरिसकेका छन् । गत वर्षको जेठ ९ गते राति पहिरो खसेपछि १६ घण्टा कालिगण्डकी नदी समेत थुनिएको थियो । अन्नपूर्ण गाउँपालिकाको राम्चेको पहाड खसेपछि पारी रहेको बस्ती समेत पुरेको थियो ।

मध्यरातमा घरभन्दा माथिबाट आएको पहिरोका कारण २७ घरधुरी विस्थापित भएका थिए । जसमध्ये ४ घरधुरी पुनः बैंसरीमै फर्किएर छाप्रो बनाएर बसेका छन भने ५ घरधुरी राहुपारेमा रहेको बैंसरी पहिरोपीडित राहत व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर कार्कीलेस् बताए । पहिरोस्थल ११० डिग्री भिरालो जमिनमा धाँजा फाटेको र ठूल्ठूला ढुङ्गा झुण्डिएको हुँदा पनि लगातार पानी परेको अवस्थामा त्यो खस्ने सम्भावना देखिएको छ ।