बेलायतको सर्वोच्च यूद्ध पदक भिक्टोरिया क्रस विजेता एवम् समाजसेवी तुल बहादुर पुनको सम्झनामा उनका छोरीले पदमार्ग बनाएका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोलाको तिप्ल्याङमा स्वर्गीय पुनको सामाजिक र विकार निर्माणको कार्यलाई निरन्तरता दिदैं आठ जाना छोरीले तिप्ल्याङ बजार देखी बतासे गाउँसम्म पदमार्ग बनाएको पुन भिसी स्मृति क्लवका अध्यक्ष बलमान गौचनले बेनीअनलाइनलाई बताए ।

बतासे आसपासमा खेतपातीका साथै करिव १३ घरधुरीलाई आवतजावतमा समस्या भएपछि गोर्खा आन्दोलनका महानायकको रुपमा समेत चिनिने पुनका छोरी जगमायाँ पुर्जा, देवी पुन, टिका थापा, धनदेवी चोचाङ्गी, मेघ कुमारी तिलिजा, मदन कुमारी राना, नविन कुमारी राना र मञ्जु गर्बुजाले पदमार्गलाई आवश्यक पर्ने आर्थिक सहयोग गरेका छन् । भिरालो र चट्टानका रहेको पदमार्गमा यसअगाडी गौमायाँ तिलिजाले समेत करिव ७० हजार लगानीमा बाटो मर्मत गरेकी थिइन् ।

बेनी–जोमसोम सडकखण्ड अन्र्तरगत पर्ने बजारमा पुन परिवारले कालिका आधारभुत विद्यालय नजिक रहेको करिव १ रोपनी जग्गा १५ लाख ५० हजारमा जग्गा समेत खरिद गरेर पुनको जिवनी, यूद्धका अनुभव, साम्रगी, पदक, पोशाक सहित पुनका बालकालदेखीका अति महत्वपूर्ण दस्तावेजहरुलाई म्यूजियम बनाउन विद्यालयको नाममा हस्तान्तरण गरिएको छ । गोर्खाबाट अवकास लिएपछि कर्मचारीको रुपमा कार्यरत पुनको सक्रियतामा उत्तरी म्याग्दीमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठुलो लगानी भित्रिएको थियो । हरिकृष्ण गौतम