टोल सुधार समितिद्वारा जनप्रतिनिधिलाई स्वागत, नमुना नगरपालिकाको सपना

0

बेनीबजार क्याम्पसचोक टोल सुधार तथा संरक्षण समिति बेनपा–८ म्याग्दीको आयोजनामा बिहीबार स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित बेनी नगरपालिका र वडाका जनप्रतिनिधिहरुको कार्यकाल सफलताको शुभकामना तथा भेटघाटसहित स्वागत गरिएको हो ।

कार्यक्रममा क्याम्पसचोक टोल सुधार समितिका पदाधिकारीहरुले बेनी नगरपालिकाका प्रमुखमा निर्वाचित हरिकुमार श्रेष्ठ, उपप्रमुख सन्जु बरुवाल, बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, ८ नम्बरका रामकृष्ण बराईली, सदस्यलगायतका जनप्रतिनिधिहरुलाई अबिर, माला र खादा लगाएर स्वागत गरेका थिए ।

स्वागतपछि बोल्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकाअन्तर्गत वडावडाको विकासका लागि आवश्यकताहरुको पहिचान गरेर योजना बनाएर अघि बढिने बताए । उनले टोलवासी सबैको साथ र सहयोग लिएर नगर क्षेत्रको विकासमा लागिने बताउँदै बेनी नगरपालिकालाई नमुना बनाइने समेत बताएका छन् ।

कार्यक्रममा बेनपाका उपमेयर सन्जु बरुवालले बजारमा दैनिक निस्कने फोहोरमैलाको व्यवस्थापन गरी सुन्दर बेनीबजार बनाउन आफूले पहल गर्ने बताउँदै समाज सुधारका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने बताइन् । वडाध्यक्ष रामकृष्ण बराईलीले क्याम्पसचोकको ढल व्यवस्थापन नै आफ्नो पहिलो काम भएको बताउँदै कालीपुल बसपार्कमा स्वागत गेट निर्माण गरिने बताए ।

कार्यक्रममा बेनपा ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले मन्तव्य राखेका थिए । कार्यक्रम क्याम्पसचोक टोल सुधार समिति अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षता, सचिव ठाकुरप्रसाद शर्माको सञ्चालन र सहसचिव नारायणकुमार बरालको स्वागतमा सम्पन्न भएको थियो ।