ओम शान्तिद्वारा जनप्रतिनिधिलाई स्वागत, समृद्ध नगरपालिका बनाउने प्रतिबद्धता

0

ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र जिल्ला शाखा बेनी म्याग्दीको आयोजनामा बिहीबार स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित बेनी नगरपालिका र वडाका जनप्रतिनिधिहरुलाई कार्यकाल सफलताको शुभकामनासहित स्वागत गरिएको हो ।

कार्यक्रममा बेनी नगरपालिका प्रमुखमा निर्वाचित हरिकुमार श्रेष्ठ, उपप्रमुख सन्जु बरुवाल, बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, ८ नम्बरका रामकृष्ण बराईली, सदस्यहरु शेरबहादुर केसी, टकसरा रानालगायत जनप्रतिनिधिलाई ब्रह्माकुमारी विश्वविद्यालयका सञ्चालिका रिना दिदीले अबिर, माला र खादा लगाएर स्वागत गरेकी थिइन् ।

सम्मान ग्रहणपछि बोल्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले मानिसमा नैतिक शिक्षाको कमीका कारण विश्वमा हिंसात्मक घटनामा वृद्धि भएको हुँदा ओम शान्तिमार्फत नैतिक शिक्षा विस्तार गर्नुपर्ने बताए । उनले समग्र नगर क्षेत्रको विकासका लागि आवश्यकताहरुको पहिचान गरेर योजनाबद्ध तरिकाले अघि बढिने बताउँदै नगरवासी सबैको साथ र सहयोग लिएर विकासमा लागिरहने बताएका छन् ।

कार्यक्रममा बेनपाका उपमेयर सन्जु बरुवालले अबको पाँचवर्ष आफुहरु बेनी नगरपालिकाको विकासमा लागिपर्ने भन्दै समृद्ध र नमुना नगरपालिका निर्माणका लागि कार्ययोजना निर्माण गरी धार्मिक एवं पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकासमा ध्यान दिइने बताइन् । वडाध्यक्षद्वय राजेन्द्रकुमार श्रेष्ठ र रामकृष्ण बराईलीले बेनीबजारलाई सफा र सुन्दर बजारका रुपमा विकास गरिने बताउँदै जनताको मतलाई अवमुल्यन हुन नदिइने बताए ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका सञ्चालिका रिना दिदीले ब्रह्माकुमारी विश्वविद्यालय समाजमा नैतिक शिक्षा दिने संस्थाका रुपमा स्थापित भएको बताइन् ।  उनले विद्यालयले कुनै पक्षको पनि पक्षपोषण नगरी नैतिक शिक्षा र चरित्र निर्माणमा ध्यान दिने भएकाले संस्थाका लागि भवन आवश्यक भएको हुँदा निर्वाचित जनप्रतिनिधिको ध्यानाकर्षण समेत गराएकी छिन् । कार्यक्रम विद्यालयका अमृता दिदीको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दी जिल्लामा आध्यात्मिक ज्ञानको विस्तारका लागि १४ वर्षअघि शाखाका रुपमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र स्थापना भएको हो ।