बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जनताको समस्यालाई समाधान गर्ने गरी नगरपालिकाको योजना तयार गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि बेनपाका विभिन्न वडामा मतदातालाई धन्यवाद र सुझाव सङ्कलन अभियानमा रहेका श्रेष्ठले नगरपालिका क्षेत्रमा योजनाबद्ध तवरले विकास निर्माणका पूर्वाधार निर्माण हुने प्रतिबद्धता जनाए ।

मतदातालाई धन्यवाद दिन शुक्रबार बेनपा– ५ पुलाचौर, डडु्वा लगाएतका क्षेत्रमा पुगेका श्रेष्ठले नगरपालिका भित्रका अति आवश्यक समस्यालाई पहिलो प्राथमिकतामा समाधान गर्ने बताए ।

उनले जनताको मतको कदर हुने गरी काम गर्ने समेत मतदाता समक्ष प्रतिबद्धता जनाए । ‘अहिले नै यो काम गर्छु भन्नेर बोल्ने अबस्था छैन, विकासका पूर्वाधारको अति नै आबश्यकता छ, गर्नुपर्ने काम धेरै भएकाले योजनाबद्ध तवरले अगाडी बढ्ने योजना बनाएको छु,’’ श्रेष्ठले भने । उनले बेनीबजार देखी दुर्गम क्षेत्रसम्म जोड्ने समस्याहरूलाई समाधान गर्ने गरी योजना तयार गरेर कार्यान्वयनमा ल्याउने बताए । बेनपाका सबै बस्तीमा पुगेर मतदातालाई मत मागेका श्रेष्ठले विजय लगत्तै सबै बस्तीमा पुगेर धन्यवाद सहितका अभियान सञ्चालन गरिरहेका छन् ।