मालिका गाउँकार्यपालिका गठनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्यानलको गठबन्धन गरेका छन् । शुक्रबार दरवाङमा भएको त्रिपक्षिय छलफलमा गाउँपालिकामा सहकार्य गरेर अगाडी बढ्ने मनोनित पदमा सहकार्य गरेर अगाडी बढ्ने लिखित सहमति भएको नेपाली कांग्रेस म्याग्दीका नेता एवम् मालिका गाउँपालिका–१ निस्कोटका वडा सदस्य लोक बहादुर मल्लले बेनीअनलाइनलाई बताए ।

‘मनोनितमा पदमा तीनवटैको सहमति भएको छ ।सहमति अनुसार अगाडी बढ्ने प्रतिबद्धता जनाएका छौ’ मल्लले भने ।गाउँकार्यपालिकामा १५ सदस्य हुनेमा गाउँपालिका प्रमुख, र उपप्रमुख, सातवटा वडाका अध्यक्ष पदेन सदस्य हुन्छन भने बाँकी अल्पसंख्य, दलित गरी ६ जना मनोनित गरिन्छ। नेपाली कांग्रेस, माओवादी र स्वतन्त्र विच भएको सहमतिमा निर्वाचित सदस्यबाट चारजना र मनोनित दुईजना गरिने छ ।

जसमा कांग्रेस २, माओवादी २ र स्वतन्त्र २ सदस्य लिने सहमति भएको छ । दिनभर भएको छलफलमा माओवादी केन्द्रका तर्फबाट दिलित शेरचन, कमल केसी, देवराज सुबेदी, स्वतन्त्रको तर्फबाट रेशम जुग्जाली र नेपाली कांग्रेसबाट लोक बहादुर मल्ल, गाउँपालिका प्रमुख श्रीप्रसाद रोका लगाएतको उपस्थिती रहेको थियो । मालिकामा नेकपा एमाले १६, नेपाली कांग्रेस १२, माओवादी केन्द्र ४ र स्वतन्त्र ५ गरी ३७ जनाले निर्वाचित भएका छन् ।