म्याग्दीमा पहिलोपटक झोलुङ्गे पुलको भार परीक्षण (फोटो फिचर)

0

म्याग्दी जिल्लामा पहिलोपटक शुक्रबार निर्माणसम्पन्न झोलुङ्गे पुलमा माटोको बोरा राखेर भार परीक्षण भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट र ५ देवीस्थानको सिमाना भएर बग्ने रितुङ खोलामाथी निर्माणसम्पन्न बतासे साँघु झोलुङ्गे पुलको भार परीक्षण गरिएको हो ।

पुल निर्माणका लागि जिल्ला समन्वय समिति म्याग्दीको आयोजना र विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) जिल्ला आयोजना कार्यालयले आर्थिक सहयोग गरेको थियो । यसैगरी झोलुङ्गे पुल सहयोग इकाई (TBSU) पोखरा र क्षेत्रीयस्तरको साझेदार संस्था (RTAF) पोखराको प्राविधिक सहयोग तथा मिलन म्याग्दीको व्यवस्थापनमा पुलको निर्माण सम्पन्न भएको बताइएको छ ।

६३ दशमलब ६ मिटर लामो पुलको कुल लागत २६ लाख ५७ हजार ४ सय २५ रुपैयाँ रहेको छ भने स्थानीयले १ लाख ३९ हजार ९ सय ५० बराबरको जनश्रमदान गरेका छन् । त्यस्तै ड्रिलीप आयोजनाले २१ लाख ७१ हजार ९३, स्वाप केन्द्रीय अनुदान २ लाख ९४ हजार ३ सय ६८ र साविकको गाविसले ५२ हजार १४ रुपैयाँ सहयोग गरेको जनाइएको छ ।
प्रति मिटर ४०२ केजी भारवहन क्षमताको झोलुङ्गे पुलको कुल भारवहन क्षमता २५ हजार ५ सय २५ केजी रहेको RTAF पोखराका प्राविधिक संयोजक अच्युत अधिकारीले जानकारी दिए ।

१ हजार ४५ दिन रोजगार सिर्जना भएको निर्माणसम्पन्न सो पुलबाट २ सय ८३ घरधुरीका १ हजार ५ सय ५८ जनसङ्ख्या लाभान्वित भएको उनले बताए । २०७२ साल असार ३० गते आयोजना सम्झौता भई गत वर्षको असारमा निर्माणसम्पन्न पुलको भार परीक्षण भने विविध कारणले ढिला हुन गएको आयोजकले जनाएका छन् ।

कार्यक्रममाTBSU पोखराका सव सहजीकरण प्रवन्धक दिनेशप्रसाद पाण्डेले पुलको भार परीक्षण गुणस्तर नियन्त्रणका लागि गरिएको बताउँदै शतप्रतिशत सफल भएको बताए । म्याग्दीका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले भौतिक संरचना निर्माण गर्दा दिगोपना दिनुपर्नेमा जोड दिँदै पुलको मर्मतसम्भार र रेखदेख स्थानीयवासीले गर्नुपर्ने बताएका छन्।

झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुतबहादुर फगामीले पुल निर्माणले निस्कोट, देवीस्थान, दरबाङलगायत क्षेत्रका साथै छिमेकी जिल्ला बागलुङको पश्चिमी भेगका जनतालाई समेत राहत मिलेको बताए । कार्यक्रम ड्रिलीप आयोजना कार्यालयका कम्प्युटर अपरेटर दिलु बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो । प्रताप बानियाँ