नगर र गाउँ कार्यपालीकामा कुन दलको कति मत (विवरण सहित)

0
216

म्याग्दीका स्थानीय तहमा शनिबार नगर र गाउँ कार्यपालीकाको निर्वाचनका लागि उमेद्वारी दर्ता भएसंगै बहुमत भएको दलले आफ्नै प्रतिनिधिहरू र बहुमत पुर्यायन पर्नेले तालमेल र सहकार्यको छलफलमा जुटेका छन् । निर्वाचित नगर र गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको मतदानबाट नगरपालिकामा तीन र गाउँ कार्यपालिकामा दलित तथा अल्पसंख्यक दुई जना र निर्वाचित महिला मध्यबाट ४ जना छनौट हुने व्यवस्था रहेको छ ।

बेनी नगर कार्यपालीकामा निर्वाचित हुने तिन जना दलित वा अल्पसंख्यक पद, नगर कार्यपालीकामा निर्वाचित मध्यबाट छनौट हुने ४ जना महिला सदस्य पदमा कांग्रेस, एमाले र राप्रपाले उमेद्वारी दर्ता गरेका छन् । ५२ जना मतदाता रहेको बेनी नगरपालीकाको कार्यपालीका चुनावका लागि नेकपा एमालेका ३७, नेपाली काँग्रेसका १२ र राप्रपाका ३ जना जनप्रतिनिधीले मतदान गर्नेछन् ।

नगरपालिका भित्र नेकपा एमालेको प्रष्ट बहुमत छ । बेनी नगरपालीकामा एमाले र राप्रपाले यसअघिको तालमेललाई निरन्तरता दिने बताएका छन् । त्यस्तै धौलागिरी र मंगला गाउँपालीकामा नेकपा एमाले तथा रघुगंगामा नेपाली काँग्रेसको बहुमत छ । दुवैमा एमाले र कांग्रेसले आफ्नो तर्फबाट मनोनित गर्ने तयारी गरिरहेको छ । यता मालीका गाउँपालीकाको गाउँ कार्यपालीकाको गठनका लागि दलहरुले सहमती गरेर उमेद्वारी दर्ता गरेका छन् ।

दुई जना दलित अल्पसंख्यक र चार जना महिला कार्यपालीका सदस्यका लागि एमाले र काँगे्रसले ११, माओवादी केन्द्र र स्वतन्त्रबाट दुईदुई जनाको उमेद्वारी परेकाले निर्बीरोध भएको छ । उता अन्नपूर्ण गाउँपालीकामा काँग्रेस र माओवादीले तालमेल गरेका छन भने एमालेले एक्लै उमेद्वारी दर्ता गरेको छ । काँग्रेस र माओवादीले दलित अल्पसंख्यकबाट हुने एकएक र निर्वाचित महिला सदस्यहरुबाट दुईदुई जनाको उमेद्वारी दर्ता गरेका छन् ।

४२ जना जनप्रतिनिधि निर्वाचित भएको अन्नपूर्ण गाउँपालीकामा नेपाली काँग्रेसका २०, एमालेका १७ र माओवादी केन्द्रका ५ जना मतदाता रहेका छन् । संबिधानले गाउँ र नगरपाली कार्यपालीकालाई स्थानीय सरकारको मन्त्रिपरिष सरहको अधिकार दिएको छ । आईतबार १४ गते उमेद्वारको अन्तिम नामावली प्रकाशन, चिन्ह प्रदान र १८ गते १० देखि १ बजेसम्म मतदानको कार्यक्रम छ । कार्यपालीका सदस्य र न्यायीक समितिलाई पूर्णता दिएपछि स्थानीय तहको निर्वाचन प्रक्रिया सकिने जनाइएको छ ।