शिकार खेल्न हिस्तानको जंगल गएका यूवाको मृत्यु

0
227

उत्तरी म्याग्दीको जंगलमा शिकार खेल्न गएका एक यूवाको मृत्यू भएको छ । अन्नपूर्ण गाउँपालिका–७ स्थीत महभीरको सामुदायिक बनमा गत शुक्रबार राती करिव १२ बजे दुईजना साथीसंगै हिस्तान र राम्चेको सिमानामा पर्ने जंगलमा भरुवा बन्दुकको गोली लागेर घाईते भएका पुगेका ३४ बर्षिय हिरालाल पुनको उपचारका क्रममा मृत्यू भएको हो ।

चराचुरूङ्गीको शिकार गर्न भन्दै गत जेठ १२ गते राती हिस्तानका २० बर्षिय विबेक शेरपुञ्जा र ३४ बर्षिय खुम बहादुर पुर्जासंगै पुगेका पुनमा चिप्लिएपछि लोड गरिएको बन्दुकले देब्रे तिघ्रामा लागेर गम्भीर घाईते भएपछि उपचारको क्रममा जिल्ला अस्पताल म्याग्दीमा मृत्यू भएको प्रहरी निरिक्षक दिवकार घिमिरेले बेनीअनलाइनलाई बताए ।

‘मृतकको शव पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको छ, थप अनुसन्धान भइरहेको छ’ घिमिरेले भने । मालिका गाउँपालिका–३ रुम घर भएका पुन ससुरालीमा बस्दै आएका थिए । तीनजना मध्यरातमा जंगलमा पुगेका थिए । प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले घटनाको अनुसन्धान भइरहेको बताईन् ।

‘अनुसन्धान भइरहेको छ, दुईजनलाई नियन्त्रणमा लिएका छौ’ उनले भनिन् । प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार मृतक अगाडी जाने क्रममा चिप्लिएपछि बन्दुक पड्किएको थियो । बन्दुकले मृतकको तिघ्रामा लागेपछि घटनास्थलमै अत्याधिक रक्तस्राप भएको थियो ।

यता मृतकका दाजु मान बहादुर पुनले घटनामा कसैको संलग्नता नरहेको प्रहरीमा लिखित जानकारी गराएका छन् । उनले आफ्नो साथमा रहेको बन्दुकबाट घाईते भएको र उपचारको क्रममा मृत्यू भएको बताए । मृतकको शव पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको छ । शुक्रबार राती भएको घटनाको प्रहरीले स्थलगत रुपमै पुगेर अनुसन्धान समेत गरेको छ । फाईल तस्वीर गुगल