स्तनक्यान्सरबाट पिडित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखकी दिलासा पुनको उपचारमा यूकेमा रहेका शिखबासीले आर्थिक सहयोग जुटाएका छन् । शिखबाट यूकेमा रहेका शिखबासीको संस्था शिख्तानी समाज यूकेले ३ लाख २ हजार २ सय २१ रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरेको समाजका अध्यक्ष दान बहादुर गर्बुजाले बेनीअनलाइनलाई बताए ।

‘आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद । सानो सहयोगले एउटा चेलीको ज्यान जोगाउने अभियानमा सक्रिय हुन अनुरोध गर्दछु’ उनले भने । स्तनक्यान्सर पीडितलाई उपचारमा आर्थिक समस्या भन्ने समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि आर्थिक सङ्कलन अभियन सुरु गरेको समेत गर्बुजाले बताए ।

उनले संकलन गरिएको आर्थिक शिख्तानी समाज यूकेका भुपु उपाध्यक्ष गोकुल पुर्जा र सदस्य कुल बहादुर पाईजाको उपस्थितीमा पीडित पुनको छोरी इनदेवीलाई हस्तान्तरण गरिने छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ । कृषि पेशामा आवद्ध रहेका पुन परिवारको आर्थिक अवस्था कमजोर रहेको छ ।

नियमित औषधी, भिडियो एक्सरे, इसिजी लगाएत आवश्यक परिक्षणका लागि ऋण खोजेर समेत उपचार गरिएको थियो । पुनको उपचारमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत आर्थिक सहयोग जुटाउने अभियान सुरु गरेको छ । पुनको उपचार र नियमित औषधी सेवनमा समेत थप आर्थिकको आवश्यकता रहेको छ ।

आर्थिक अभावले उपचारमा समस्या देखिएको जानकारी पाएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले ब्यक्तिगत रुपमा १० हजार र संस्थागत रुपमा समेत सहयोग गरिएको छ । नेपालमा दोस्रो ठुलो समस्याको रुपमा देखिएको स्तनक्यान्सरको जनचेतनाको अभावका कारण अन्तिम समयमा मात्रै विरामी अस्पतालमा पुग्ने गरेका छन् । चिकित्सका अनुसार घरमै स्तनक्यान्सरको पहिचान गर्न सकिने भएकाले रोग पहिचान भएलगत्तै उपचार भए स्तनक्यान्सर निको हुन्छ ।