प्रहरीमा १० महिनामा ९५ उजुरी दर्ता, ४६ फस्र्यौट

0

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा १० महिनाको अवधिमा विभिन्न प्रकृतिका ९५ थान उजुरीहरु दर्ता भएको छ । चालु आर्थिक वर्ष २०७३÷७४ को साउन महिनादेखि बैशाख मसान्तसम्मको अवधिमा प्रहरी कार्यालयमा विभिन्न किसिमका उजुरी दर्ता भएका हुन् ।

प्रहरीमा दर्ता भएकामध्ये सबैभन्दा धेरै केही सार्वजनिक अपराधसँग सम्बन्धित २१ ओटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । यसैगरी भवितव्यसँग सम्बन्धित १७ वटा, चोरी गरेको १२, झुण्डीएर आत्महत्या गरेका ११, फुटकर ९, सवारी ज्यानका ६, ज्यान मार्ने उद्योग ३ र बहुविवाहका ३ ओटा उजुरी दर्ता भएको प्रहरी नायव निरीक्षक बालकृष्ण शर्माले बताए ।

त्यस्तै जबरजस्ती करणी अपराधको २, जबरजस्ती करणी उद्योग २, हामफाली २, कर्तव्य ज्यान १, विषसेवन १, औजार प्रयोग १, लागूऔषध १, मानव ओसारपोसार १, आगलागी घटना १ र गर्भपतनसम्बन्धी १ ओटा उजुरी दर्ता भएको उनले जानकारी दिएका छन् । कुल ९५ ओटा उजुरी दर्ता भएकोमा ४६ ओटा फस्र्योट भैसकेका छन्भने ४९ थान बाँकी रहेको प्रनानि शर्माको भनाई छ ।

प्रहरीमा दर्ता भएका उजुरीमध्ये सार्वजनिक अपराधका धेरै हुनुमा मादकपदार्थ सेवन गरी घट्ना घटेको पाइएको म्याग्दीका प्रहरी नावय उपरीक्षक बशुन्धरा खड्काले बताइन् । उनले धर्म, संस्कृति र मेला, पर्व तथा महोत्सवमा मापसेका घटना हुनेहुँदा घरेलु मदिरा नियन्त्रण गर्नुपर्ने आवश्यक रहेको बताएकी छिन् । आपराधिक क्रियाकलाप एवं सबै किसिमका घटना न्युनीकरणका लागि प्रहरीसहित नागरिक तथा सरोकारवाला निकाय लाग्नुपर्ने बताइन् ।