म्याग्दीमा १० महिनाको अवधिमा झण्डै २९ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ भने ३५ सयबढी सवारीसाधनहरु कार्वाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७३÷७४ को १० महिनाको अवधिमा कुल २८ लाख ८२ हजार राजश्व सङ्कलन गरेको हो ।

गत साउनदेखि बैशाख महिनाको अवधिमा सो परिमाणको राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । यसैगरी ३ हजार ५ सय ४८ ओटा विभिन्न प्रकृतिका सवारीसाधनहरु कार्वाहीमा परेको ट्राफिक कार्यालयका प्रहरी जवान बैकुण्ठ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ४३ ओटा सवारीहरु मादकपदार्थ सेवन गरी चलाएको पाइएको र त्यसबाट समेत ४३ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी चल्ने सवारीसाधनहरुमध्ये सबैभन्दा धेरै जीप तथा कार रहेका छन् । ती दुवै साधनहरुबाट मात्रै ७ लाख ८७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । त्यस्तै ८ सय ३६ ओटा मोटरसाईकललाई कार्वाही गरिएकोमा ६ लाख ३४ हजार राजश्व सङ्कलन भएको छ भने ६ सय ३७ ओटा बसबाट ५ लाख ९८ हजार राजश्व सङ्कलन गरिएको ट्राफिक प्रमुख पर्शुराम जोशीले बताउनुभयो ।

त्यसैगरी ६ सय २ वटा ट्याक्टरबाट ४ लाख ३२ हजार र ४ सय ९३ वटा ट्रकबाट ४ लाख ३१ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको उहाँले जानकारी दिनुभएको छ । कार्यालयका अनुसार चालु वर्षको हालसम्मको अवधिमा गत कात्तिक महिनामा सबैभन्दा धेरै ५ सय ५६ ओटा सवारीसाधनले ट्राफिक नियम उल्लङ्घन गरेकोमा जरिवानास्वरुप ५ लाख १८ हजार राजश्व सङ्कलन गरिएको छ ।

गएको आर्थिक वर्षमा कुल १८ लाख ५२ हजार ३ सय रुपैयाँ मात्रै राजश्व सङ्कलन भएको थियो । तर, यसवर्ष आर्थिक वर्ष नसकिँदै राजश्वको दरमा ह्वात्तै वृद्धि भएको छ । सवारीसाधनको सङ्ख्यामा वृद्धि हुनु, रुट परमिट नलिइनु, मापसे सेवन, चालकको अटेरी, यात्रुको लापरवाहीलगायतका कारणले ट्राफिक नियम उल्लङ्घन गरेको पाइएकोमा कार्वाही गर्दा राजश्वको दर बढेको ट्राफिक प्रमुख जोशीको भनाई छ ।

जिल्लामा हालसम्म १० ओटा दुर्घटनाहरु भएकोमा ६ जनाको मृत्यु भएको र २६ जना सख्त घाइते भएको ट्राफिक कार्यालयका प्रहरी जवान पौडेलले बताउनुभयो । दुर्घटनामा परेका १० ओटै सवारीको पूर्ण क्षति भएको छ । म्याग्दीको अधिकांश सडक ग्रामीण, भिरालो तथा साँघुरो, जिर्ण बन्दै जानु मर्मतसम्भार नहुनु, चालकको लापरवाही, ओभरलोडलगायतका कारणले दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ ।