परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई पोखरामा बस्ने यूवाहरूले आर्थिक सहयोग गरेका छन् । पश्चिम म्याग्दी मगर युथ परिवार पोखरा लामाचौरका अध्यक्ष निरज पुनको सक्रियतामा सङ्कलन भएको २० हजार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाका अन्त्य गर्ने अभियान सञ्चालन गरिरहेको कोषको एक करोड ५० लाखको अक्षय कोषको अभियानलाई एकबद्धता स्वरुप उक्त रकम सहयोग गरिएको पुनले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरूको प्रयासबाट आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकाहरुको उपचारमा कोषले सक्रितापूर्वक काम गर्न सफल भएको बताए । उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको बताए । कार्यक्रममा कोषका पदाधिकारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

बेनी नगरपालिका– ४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले हालसम्म ३३ जनाभन्दा धेरैको सफल उपचार गरेको छ । क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । कोषका अभियानमा जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ ।