जमुना आचार्य समाजसेवा रत्न पुरस्कारका लागि सिफारीस

0

सामाजिक क्षेत्रमा क्रियाशिल जमुना आचार्य समाजसेवा रत्न पुरस्कारबाट सम्मानित हुने भएकी छिन् । १०औं गणतन्त्र दिवस–२०७४ को पूर्वसन्ध्यामा म्याग्दी जिल्लाबाट आचार्यको नाम सिफारीस भएको थियो । गृह मन्त्रालय हुँदै मन्त्रीपरिषदको निर्णयबाट पारित भई सम्माननीय राष्ट्रपतिमार्फत आचार्यसहित विभिन्न विधाका सामाजिक व्यक्तित्वहरुको नाम घोषणा गरिएको हो ।

पुरस्कारका लागि सिफारीस भएका आचार्यलगायत व्यक्तिहरुलाई आगामी वर्षको गणतन्त्र दिवसका अवसरमा तक्मा प्रदान गरी सम्मान गरिने जानकारी आफूले पाएको आचार्यले बताइन् । नेपाल सरकारले हरेक वर्ष सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको खोजी गरी सम्मान गर्दै आइरहेको बताइएको छ ।

२०३७ साल कात्तिक २२ गते पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा माता चन्द्रावती र पिता छवानन्द उपाध्यायको कोखबाट पहिलो सन्तानका रुपमा आचार्य जन्मिएकी हुन् । बायाँ हात गुमाएर अपाङ्गताको जीवन बिताउँदै आएकी आचार्यको माता र पिताको भने यसअघि नै देहावसान भैसकेको छ । शारिरीक रुपमा अपाङ्गता भए पनि आचार्य पर्वत र म्याग्दीका विभिन्न संघसंस्थामा क्रियाशिल रहँदै आएकी छिन् ।

जमुना आचार्य म्याग्दीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, जिल्ला सहकारी संघको कोषाध्यक्ष र पब्लिक भिजन केबुल नेटवर्क सहकारीको लेखा संयोजक पदमा रही काम गर्दै आएकी छिन् । दिदीबहिनी सहकारीको नेतृत्व गरेकी उनले सहकारी संस्थामा ‘मुठ्ठीदान’ अभियान नै चलाएर न्युन आय भएका, हिंसामा परेका र विपन्न परिवारलाई नगद एवं जिन्सी सामान उपलब्ध गराएर सहयोग पु¥याइरहेकी छिन् ।

उनले नेतृत्व गरेको सहकारी संस्था धौलागिरिमै बचत तथा ऋणतर्फ उत्कृष्ट घोषित भई गत वर्षको राष्ट्रिय सहकारी दिवसमा डिभिजन सहकारी कार्यालय बागलुङबाट सम्मानित भएको थियो । यसैगरी म्याग्दी जिल्लामा उत्कृष्ट सहकारीको स्थान ओगट्न सफल दिदीबहिनी सहकारी देशका विभिन्न जिल्लाबाट अन्तर जिल्ला सहकारी भ्रमण कार्यक्रम लिएर आउने सहकारीकर्मीहरुको आकर्षणको केन्द्रविन्दु समेत बनेको छ ।

महिला मानवअधिकारकर्मी समेत रहेकी ३७ वर्षीया आचार्य नागरिक समाज जलजला पर्वतको संयोजक पनि हुन् । उनी सहकारी संघसंस्था, मानवीय एवं सामाजिक तथा मानवअधिकारको क्षेत्रमा क्रियाशिल रहेकी छिन् । समाजसेवा रत्न पुरस्कारका लागि सिफारीस भएकी आचार्य आफु सामाजिक क्षेत्रबाट पुरस्कारका लागि सिफारीस भएकोमा धेरै खुशी लागेको बताइन् ।

उनले पुरस्कार सिफारीसका लागि सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर रुपमा सामाजिक र मानवीय सेवामा लागिपर्ने बताएकी छिन् । सामाजिक क्षेत्रमा सधैं क्रियाशिल रहेमा एकपटक अवसर आउने रहेछ भन्दै उनले सम्मानको उचित सदुपयोग गर्ने बताइन् । प्रताप बानियाँ