घरको काम छोडेर बस्ती संरक्षणमा जुटे फुलबारीबासी (फोटो फिचर)

0
270

गतबर्ष रितुङ खोलामा आएको बाढीका कारण जोखिममा परेको म्याग्दीको मालिका गाउँपालिका–६ ओखरबोट फुलबारीका बासिन्दाहरुले बस्ती संरक्षणमा जुटेका छन् ।

खोलाले कटान गरेपछि जोखिममा परेको बस्तीलाई सुरक्षित गर्न सरकारी निकायबाट प्राप्त भएको बजेट संगै दैनिक जनश्रमदानबाट बस्तीलाई थप कटानबाट जोगाउन ग्यावियन पर्खाल लगाउने काम भइरहेको पुरुषोत्तम प्राविका प्रअ चुडामणी सापकोटाले बेनीअनलाइनलाई बताए । ‘बस्ती जोगाउन आवश्यक बजेट प्राप्त हुन सकेको छैन ।प्राप्त बजेटसंगै दैनिक फुलबारीबासीले श्रमदान गरिरहेका छन्’ सापकोटाले भने ।

उनले खोलाले कटान गरेपछि जिल्ला देखी केन्द्रसम्म बजेटको माग गदैं ज्ञापनपत्र बुझाएपछि जिल्ला समन्वय समितिबाट ६ लाख र निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख बजेट प्राप्त भएको बताए । खोलाले बस्ती तथा झोलुङ्गे पुल, खानेपानीको संरचनामा समेत क्षती पुगेको अवस्थामा १६ लाख बजेटबाट बस्ती जोगाउन असम्भव भएपछि फुलबारीबासीले दैनिक खोलामा ढुंगा संकलन गरेर ग्याविन लगाइरहेका छन् ।

यूवा देखी बृद्धबृद्धासम्म जनश्रमदानमा ब्यस्त देखिन्छन् । खोलाले धार परिवर्तन गरेकाले बजार संरक्षणमा पक्की पर्खाल आवश्यकता रहेको स्थानीयको भनाई छ । करिव चार दशक पछाडी आएको बाढीले लाखौंको क्षती पुर्याएको थियो । रितुङ खोलाको कटानका कारण ६ घरपरिवार विस्थापित भएका थिए भने करिब ५० घरधुरीको बसोबास रहेको फुलबारी गाउँनै जोखिममा परेको छ ।