ओखरबोटका वडा अध्यक्ष भन्छन्,‘गाउँका तामाखानी सञ्चालन गर्छु’

0
276

मालिका गाउँपालिका–६ ओखरबोटको वडा अध्यक्ष दिलिप शेरचनले तामाखानी सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । तामाखानी सञ्चालनमा ल्याउन पटक–पटक सरकारी निकायबाट भएका अवरोधका बारेमा गाउँमा आयोजित कार्यक्रममा गाउँलेलाई सुनाउँदै शेरचनले विगतमा माग्दा नपाएको तामाखानी अव गाउँपालिकामा प्राप्त अधिकारबाटै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए ।

‘विगतमा धेरै समस्या झेल्नुपर्यो, अव त तपाईहरूले मत दिएर निर्वाचित भएको छु’ ओखरबोटमा आयोजित कार्यक्रममा शेरचनले भने । उनले तामाखानीका बारेमा आफुँले विभिन्न सरकारी निकायमा पुग्दा करिव १ लाख खर्च गरेको बताउँदै गाउँको रोजगारीका लागि समेत खानी सञ्चालनमा ल्याउने बताए ।

ओखरबोटको भीरखानीमा रहेका तामाखानीमा अझै पनि आसपासका क्षेत्रमा तामा भेटिन्छन् । गाँउबाट नजिक रहेको दुईवटा खानीको करिव दुई किलोमिटरको सुरूङ खनेर २०३६ सालसम्म नियमित सञ्चालन गरिएपनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावमा कारण बन्द भएको थियो । गाउँमा रहेका तामाखानी सञ्चालनमा ल्याए धेरैलाई रोजगारी दिन सकिने भएकाले पनि मालिका गाउँपालिकाले आफ्नो योजनामा समेत राखेको छ ।

तत्कालिन समयमा तामाखानीको ठेक्का समेत लिएर सञ्चालन गरेका वडा अध्यक्ष शेरचनले तामाको बजार राम्रो भएकाले पनि यसलाई प्राथमिकतामा राख्ने बताए । गाउँभरी तामा र सिसा खानी भेटिएपनि जनप्रतिनिधिको अभाव र सरकारी उदासिनताका कारण अलपत्र परेको स्थानीयको भनाई छ ।

ओखरबोटको खानीको २०३० साल मंसिर ७ गते स्वर्गिय राजा विरेन्द्र शाह र रानी ऐश्वर्य दुईवटा हेलिकप्टरमा तामाखानी भएको स्थानमै पुगेर अवलोकन समेत गरेका थिए । म्याग्दीमा तामा, चुनढुंगा, क्र्वाज, कप्रक,स्लेटढुंगा, मार्वल र इन्धनका खनिज पर्दाथमा तातोपानीका मुहानहरू समेत रहेका छन् । जिल्लाका विभिन्न गाउँपालिकामा रहेका तामाखानी बन्द अवस्थामा छन् । स्थानीय तहको निर्वाचन सकिएपछि गाउँपालिका देखी वडाका जनप्रतिनिधिले समेत विगतमा सम्भावना भएका क्षेत्रहरुको पहिचानमा सक्रियता देखाएका छन् ।