(हरिकृष्ण गौतम)

तामाखानी सञ्चालनमा ल्याउन पटक–पटक सरकारी निकायमा पुग्दा दिलिप शेरचनलाई विभिन्न बाहनामा अल्झाउने प्रयास गरियो ।कानुनी जटिलता, लाइसेन्स, स्थलगत अनुगमन लगाएतका प्रावधानहरू देखाएपछि फर्किएका शेरचन स्थानीय तहको निर्वाचनमा मालिका गाउँपालिका–६ ओखरबोटको वडा अध्यक्षमा निर्वाचित भएपछि आफ्नै गाउँका तामाखानीलाई पुनः सञ्चालनमा ल्याउने बताएका छन् । ‘मैले पटकपटक सञ्चालनको प्रयास गरेको थिए, ब्यक्तिगत भन्दा पनि समाजको फाइदाका लागि हो’ शेरचनले भने । उनले विगतमा सरकारी प्रक्रियामा दुख पाएपनि अव आफ्नो हातमा जिम्मेबारी आएकाले सहज भएको बताए ।

ओखरबोटमा रहेका तामाखानीबाट उत्पादन गरेका तामाहरूको विक्रीमा समेत गरेका शेरचनले तामाखानीले गाउँलेलाई रोजगार मिल्ने र गाउँपालिकाको आम्दानी समेत बढ्ने भएकाले तामाखानी पहिलो प्राथमिकता रहेको बताए । ‘ब्यक्तिगत १ लाख खर्च गरेर समेत सरकारी निकायमा पुगेको थिए, धेरै अवरोध भएपछि फर्किए’ शेरचनले भने । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि अव काम गरेर देखाउने तयारी गरेको बताए ।

ओखरबोटको भीरखानीमा रहेका तामाखानीमा अझै पनि आसपासका क्षेत्रमा तामा भेटिन्छन् । ओखरबोट गाउँबाट २० मिनेटको दुरीमा रहेका दुईवटा खानीको करिव दुई किलोमिटरको सुरूङ खनेर २०३६ सालसम्म नियमित सञ्चालन गरिएपनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावमा कारण बन्द भएको थियो ।करिव पाँचमिनेटको दुरीमा रहेका दुईवटा तामाखानीको करिव २५ मिटर भित्रसम्म सहजै पुग्न सकिन्छ ।

खानी उत्खनन्का क्रममा प्रयोग गरिएका साम्रागी,पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुङ्गाहरू समेत खानीभित्र रहेका छन् । उन्नाइसौं शताब्दीमा पत्ता लागेको तामाखानी जिल्लाका अन्य गाविसमा रहेका बन्द भएको धेरैपछाडीसम्म सञ्चालनमा गरिएको थियो ।

तत्कालिन समयमा तामाखानीको ठेक्का समेत लिएर सञ्चालन गरेका वडा अध्यक्ष शेरचनले स्थानीयबासीलाई गाउँमै पुगेर तामाखानी सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘गाउँमा भएका सबै सम्भावनाका ढोका खुलेका छन्, गाउँमै रोजगार दिने गरी काम अगाडी बढ्छ’ मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोकाले भने ।

उनले निर्वाचित भएपछि केही महिना गाउँपालिका भित्रका सम्भावनाको खोजी र लगानी गर्ने वातावरणमा केन्द्रित हुने समेत बताए । उनले रोजगारको खोजीमा खाडीमुलुक जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी खानी सञ्चालन, कृषि, पशु्पालन र पर्यटनको क्षेत्रमा रोजगार सृजना गर्ने बताए । तत्कालिन सरकारले अनुदान,प्रोत्साहनभन्दा पनि चर्को करका साथै आधा हिस्सा समेत स्थानीय सरकारी कर्मचारीले माग्ने गरेकाले खानी सञ्चालनमा समस्या भएको बताउँदै विगतमा तितो अनुभवलाई सम्झिएर तामाखानी सञ्चालन गर्ने बताए ।

तामाखानी आसपासका क्षेत्रमा सुनखानी समेत हुनसक्ने भन्दै एकबर्षसम्म नर्वेबाट आएका टोलीले गाउँका विभिन्न स्थानमा उत्खनन् गर्ने क्रममा ओखरबोट मावि आसपासका जंगलमा सिसाको खानी समेत फेला परेको थियो ।
गाउँभरी तामा र सिसा खानी भेटिएपनि जनप्रतिनिधिको अभाव र सरकारी उदासिनताका कारण अलपत्र परेको थियो । ओखरबोटको खानीको २०३० साल मंसिर ७ गते स्वर्गिय राजा विरेन्द्र शाह र रानी ऐश्वर्य दुईवटा हेलिकप्टरमा तामाखानी भएको स्थानमै पुगेर अवलोकन समेत गरेका थिए ।

खानी तथा भूगर्भ विभागका अनुसार जिल्लाका करिव एक दर्जन स्थानमा तामा खानी रहेका छन् । सयौंबर्ष अगाडी खानी उत्खनन् गर्ने क्रममा छन्त्याल जातीले धौलागिरि गाउँपालिकाको ताकमको मच्छिम, गुर्जा, मल्कवाङ, रघुगंगा गाउँपालिकाको कुईनेमंगले लगाएतका क्षेत्रमा तामाखानीलाई संरक्षण गर्न विकट र भिरालो ठाउँमा समेत मानवबस्ती नै विस्तार गरेका थिए ।

‘मेरो गाउँमै तामाखानी छ, अव विज्ञहरूलाई लिएर खानीको बारेमा जानकारी गराउँछु’ धौलागिरि गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले भने । उनले विगतमा आवश्यकता देखिएपनि सरकारी निकायबाट बेवास्ता भएका सम्भावनायुक्त क्षेत्रहरुमा धमाधम काम सुरु हुने बताए ।

जिल्लाका माथिल्लो क्षेत्रमा तामा, चुनढुंगा, क्र्वाज, कप्रक,स्लेटढुंगा, मार्वल र इन्धनका खनिज पर्दाथमा तातोपानीका मुहानहरू समेत रहेका छन् । कालिगण्डकी र राहुघाट क्षेत्रको राहुघाट नदीको बालुवामा सुनको टुक्रा भेटिने भएकाले सुनखानीको सम्भावना समेत रहेको भूर्गभ विदहरूको भनाई छ । केहीबर्ष अगाडी चिनियाँ कम्पनीले म्याग्दी क्षेत्रका सुुनखानी अन्वेषण गरेको थियो ।