सन्तानको रहर पुगेका दम्पत्ती स्थायी बन्ध्याकरण गर्न अस्पतालमा

0
297

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा शुक्रबारदेखि सदरमुकाम बेनीमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको हो । नेपालमा बढ्दै गैरहेको जनसङ्ख्या वृद्धिदरलाई कम गर्ने उद्देश्यले वार्षिक कार्यक्रमअनुसार परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सन्तानको रहर पुगेका दम्पतिहरुका लागि लक्षित गरी सञ्चालित शिविरमा परिवार नियोजनसम्बन्धी अस्थायी तथा स्थायी सेवाको बारेमा समेत परामर्श दिइने बताइएको छ । पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्यापको शिविर आयोजना गरिएकोमा शुक्रबार ९ जना पुरुष र २ जना महिलाले सेवा लिएको पब्लिक हेल्थ नर्स लिला गौतमले बताइन् ।

शिविरमा डाक्टर लक्ष्मी गौतम, स्टाफनर्स जानकी केसी र जिल्ला अस्पतालको ओटी टिमले सेवा प्रवाह गरिरहेको छ ।
शिविर आइतबारसम्म सञ्चालन हुने जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले यसअघि गत माघ महिनामा जिल्ला अस्पताल, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र र भूरुङ–तातोपानी स्वास्थ्यचौकीमा शिविर आयोजना गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालयमा भने नियमित रुपमा परिवार नियोजनसम्बन्धी सेवा उपलब्ध रहेको छ ।  प्रताप बानियाँ