यस्ता छन् धौलागिरि गाउँपालिकाको पहिलो बैठकको निर्णय

0
495

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको पहिलो पूर्ण वैठक सम्पन्न भएको छ । बिहीबार गाउँ कार्यपालिका निर्वाचनबाट गाउँकार्यपालिका गठनले पूर्णता पाएपछि गाउँपालिका प्रमुख थमसरा पुनको अध्यक्षतामा वडा सचिवसहित बसेको पहिलो पूर्ण वैठकले विभिन्न निर्णय गरेको हो ।

वैठकले धौलागिरि गाउँपालिकाभित्र पर्ने हिमालय, जडिबुटी र जलविद्युतलगायत क्षेत्रको रोयल्टी सम्बन्धित निकायमा माग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । उक्त रोयल्टीहरु मागका सम्बन्धमा गाउँपालिका अध्यक्ष र कार्यकारी अधिकृतलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी वैठकले गाउँपालिकाका वडाबाट हिमालय क्षेत्रमा पुग्न १ दिन भन्दाबढी समय लाग्ने भएको हुँदा ‘क’ वर्गको गाउँपालिकामा स्तरोन्नतिको लागि पहल गर्ने निर्णय गरेको अध्यक्ष पुनले जानकारी दिएकी छिन् । त्यस्तै सूचना र सञ्चारबाट गाउँपालिका ओझेलमा परेको हुँदा सञ्चारका पूर्वाधार विस्तारका लागि नेपाल टेलिकमसमक्ष अनुरोध गर्ने गाउँपालिकाले जनाएको छ ।

धौलागिरि गाउँपालिकाको सबै वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा पु¥याउनका लागि ऊर्जा मन्त्रालयमा विद्युतीकरणको माग गर्ने निर्णय गरिएको अध्यक्ष पुनको भनाई छ ।उनका अनुसार गाउँपालिका केन्द्र रहेको स्थानमा आर्थिक कारोबारमा समस्या भएको हुँदा सरकारी बैङ्कको शाखा स्थापनाका लागि पहल गर्ने निर्णय समेत गरिएको छ ।

गाउँपालिकाको यथार्थ वस्तुस्थिति बुझ्नका लागि वडा र गाउँपालिकाको भेलेज प्रोफाइल बनाइने भएको छ । धौलागिरि गाउँपालिका भौगोलिक विकटता र दुर्गम भएको हुँदा प्रत्येक वडामा वडा सचिव नहुँदा काम गर्न समस्या भएकोले प्रतिवडा एक सचिव उपलब्ध गराउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरिएको गाउँपालिका उपप्रमुख रेशम छन्त्यालले बताए । धौलागिरि गाउँपालिकामा विभिन्न ७ ओटा वडा रहेका छन् । (प्रताप बानियाँ)