म्याग्दीबाट वैदेशिक रोजगारीका लागि अमेरिका गएका एकजना युवाले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा मासिक १० हजार राशिको “तत्सम–तद्भव”छात्रवृति स्थापना गर्नुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट घरभई हाल अमेरिकामा रहनु भएका सुरज थापाले स्वर्गीय बुबा मिनवहादुर थापाको स्मृतिमा ज्यामरुककोट क्षेत्रका दुईजना विपन्न परिवारका विद्यार्थीहरुलाई पाँच वर्षसम्म मासिक ५÷५ हजार रुपैयाँ वितरण गर्नेगरी छात्रवृत्ति कोष स्थापना गर्नुभएको हो ।

ज्यामरुककोट समाज यु.एस.एका संयोजक समेत रहनुभएका थापाले ज्यामरुककोट समाज नेपालको सिफारिस र संयोजनमा सो छात्रवृत्ति कोषको स्थापना गर्नुभएको हो । छात्रवृत्ति प्राप्त गर्नेमा अर्जुन माविमा कक्षा ११ मा अध्ययनरत छात्र शिव परियार र राधाकृष्ण आधारभूत विद्यालय गौश्वारामा कक्षा ८ मा अध्ययनरत छात्रा समिक्षा सुनार रहनुभएको छ ।

चालु शैक्षिक वर्षका लागि परियार र सुनारलाई अर्जुनमाविमा आयोजित एक कार्यक्रममा थापाकी आमा एवं ज्यामरुककोट समाज नेपालकी आजिवन सदस्य खदेवि थापाले वैशाख महिनाको पाँच÷पाँच हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्नुभयो । उनीहरुलाई एक वर्षसम्म मासिक पाँचपाँच हजार रुपैयाँ उपलव्ध गराइने ज्यामरुककोट समाज नेपालका अध्यक्ष राम कार्कीले बताउनुभयो ।

ज्यामरुककोट समाज नेपालका कोषाध्यक्ष दीर्घप्रसाद रिजालको उपस्थितिमा प्रदान गरिएको सो छात्रवृत्ति हरेक वर्ष ज्यामरुककोट क्षेत्रका दुईजना विपन्न र जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने जानकारी गराइएको थियो । ज्यामरुककोट क्षेत्रका गरिब,विपन्न तथा जेहेनदार विद्यार्थीलाई अध्ययन गर्न सहयोग पुगोस् र आर्थिक अभावले पढ्न बाट वंचित हुन नपरोस भनेर आगामी पाँच वर्षसम्म निरन्तर रुपमा मासिक ५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने सुरज थापाले बताउनुभयो । धु्रबसागर शर्मा