(गोपाल छन्त्याल)

रघुगंगा–८ पात्लेखर्कका ४६ बर्षीया देवीकला गुरुङ तीनदिन यता मरेतुल्य छिन् । राम्रोसँग बोल्नै सक्दिनन् । कहिले मेरा छोरा, कहिले बुहारी त कहिले सानो नातिबाबु भन्दै बर्बराइरन्छिन् । १७ बर्षदेखि जीवनसाथीको अनुपस्थितिमा उनले दुई छोरा प्रेम –पबहादुर) र नन्दलाई हुर्काए, बढाए र पढाए ।

१७ बर्षअघि बालबच्चा पाल्ने भन्दै रोजगारको खोजीमा भारत पसेका देवीकलाकी श्रीमान सार्के गुरुङ त्यसयता कहाँ गए ? अहिलेसम्म कुनै टुँगो छैन । ३ बर्षअघि जेठा प्रेमले मंगला गाउँपालिका–४ अर्मन छिस्वाङबाट बिबाह गरे । त्यसलगत्तै नाती जन्मेपछि देवीकला कति धेरै खुशी थिइन् । तर, उनको त्यो खुशी गत शुक्रबार एकाएक खोसियो । घरबाट सकुशल ससुराली आएकी बुहारी चिना र १४ महिने नातिले उनलाई अब कहिल्यै ‘आमा’ भनेर बोलाउने छैन ।

छोरा प्रेम कास्कीको पोखरास्थित कास्की सेवा अस्पतालमा जीवन–मरणको दोसाँधमा छन् । उनको होस अझसम्म पुरै खुलेको छैन । बिहान ढिडोसँग आलु र भेन्टा खाएका तीनैजना एकैपटक बेहोस भएपछि स्थानीको सहयोगमा उनीहरुलाई बेनी अस्पताल ल्याईएको थियो । चिनाको बेनी अस्पताल र उनको छोराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको हो । देवीकलाकी कान्छो छोरा नन्द भर्खर १० कक्षामा अध्ययनरत छन् । दैनिक मजदुरी गरेरै जिविका चलाउँदै आएका देवीकला अहिले छोराको उपचारसँगै बुहारी–नातिको काजक्रिया कसरी उत्तार्ने भन्ने चिन्तामा छिन् । ‘भाग्यले मलाई यसरी ठगेको छ, त्यसै त श्रीमानको कुनै अत्तोपत्तो छैन्, त्यसमाथि उमेर पुगेका छोरा–बुहारीको यस्तो घटना हुने’, देवीकला रुदै भन्छिन्, ‘हे भगवान, मलाई किन मारेनौँ ?’

भौगोलिक हिसाबमा अर्मन र पात्लेखर्क विपरित दिशामा पर्छ । कुईनेमँगलेस्थित पात्लेखर्क पुग्न अर्मनबाट बावियाचौर हुदै बेनी झरेर जानुपर्छ । देवीकलाकी कान्छा छोरा नन्दले भाउजु र छोराको काजक्रिया कसरी गर्ने भन्ने चिन्ता पलाएको बताए । ‘बुबा नहुँदा पीडा कस्तो हुन्छ ? अहिले भोग्दैछौँ, दाईलाई सञ्चो हुने की नहुने कुनै ठेगान छैन’, उनले भने, ‘क्रिया खर्च र दाईको उपचारका लागि सबैमा अनुरोध छ ।’ पात्लेखर्कका अगुवा युवा अंकित पुनले कम्जोर आर्थिक भएकाले क्रिया खर्च जुटाउन अभियान सञ्चालन गर्न लागिएको बताए । ‘पोष्टमात्म देखि दाहसँस्कारसम्म हामीले सहयोग मागेर काम ग¥यौँ । उहाँहरुको अवस्था एकदमै नाजुक छ’, पुनले भने, ‘सानो सहयोगबाट उनीहरुलाई ठुलो सहयोग हुनेछ ।’

Contact Number: Gopal Chhantyal 9847642370