विषाक्त खाना खाएर ज्यान गुमाएकाको परिवारलाई म्याग्दीका एक ब्यक्तिले आर्थिक सहयोग गरेका छन् । शुक्रबार विहान मंगला गाउँपालिका–५ अर्मनको छिस्वाङमा ढिडोसँग आलु र भेन्टा खाएका उपचारको क्रममा रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको पात्लेखर्कक्री २० बर्षीय चिना गुरुङ र १४ महिनाको छोराको ज्यान गएको थियो ।

आर्थिक अवस्था कमजोर रहेको गुरूङ परिवारले क्रिया खर्च र गम्भीर अवस्थामा रहेका मृतक चिनाका श्रीमान प्रेम गुरुङ (पबहादुर)को उपचारमा समेत अभाव भएको समाचार पत्रकार गोपाल छन्त्यालले बेनीअनलाइनमा लेखेपछि बेनी नगरपालिका–८ कालिपुलमा केबी अटो पार्टस् एण्ड मोटरसाईकल सर्भिस सेन्टरका प्रोपाईटर खेम केसीले ५ हजार आर्थिक सहयोग गरेका हु्न ।

‘शोकमा डुवेको परिवारमा क्रियाखर्च समेत नभएको समाचारले स्तब्ध भए । सबैलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न अनुरोध समेत गर्दछु’ केसीले भने । विगतमा समेत विभिन्न सामाजिक कार्यमा सहयोग गदैं आइरहेका केसीले आर्थिक अवस्था कमजोर भएर क्रियाखर्च समेत ब्यवस्थापन गर्न नसक्ने अवस्थामा आफ्नो खर्च कटाएर सहयोग गरेको बताए ।

माईत गएका छोराबुहारी र नाती विरामी भएको खवर सुनेर सदरमुकाम बेनी आएकी ४६ बर्षीया देवीकला गुरुङले बुहारी र नातीको दाहसंस्कार गरेपनि छोराको उपचार र क्रियाखर्चको अभाव भएको बताइएकी थिईन् । दैनिक मजदुरी गरेरै जिविका चलाउँदै आएका देवीकला अहिले छोराको उपचारसँगै बुहारी–नातिको काजक्रिया कसरी उत्तार्ने भन्दै सहयोगको याचना गरेकी छन्।

थप जानकारी तथा सहयोगका लागि : गोपाल छन्त्याल ९८४६७४२३७०