स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले बृद्धबृद्धालाई थप भत्ता, सडक, पर्यटन, रोजगार, स्वास्थ्य लगाएत पहिलो बैठकबाट मतदातालाई खुसी बनाउन विभिन्न योजनाहरू सार्वजनिक गरे ।

गाउँकार्यपालिकाको पहिलो बैठकबाट ब्यक्ति र समुहलाई खुसी पार्ने गरी निर्णय गरिरहेको बेला मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका मगरले सामाजिक सुरक्षा भत्ता लिन बैंक तथा वित्तिय संस्था सम्म आउने बृद्धबृद्धालाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरे ।

गाउँपालिका अन्र्तरगत पर्ने दरवाङ, निस्कोट, रुम, ओरखबोट, देविस्थान र बिमबाट भत्ता लिन दरवाङ बजारमा रहेका बैंकहरूमा आउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी कामको थालनी गरेको प्रमुख रोकाले बताए ।‘दुर्गमबस्तीबाट बृद्धबृद्धालाई भत्ता लिन आउँदा नै २ हजारको हाराहारीमा खर्च हुन्छ । मैले सस्तो लोकप्रियता भन्दा घरदैलोमै पुगेर भत्ता उपलब्ध गराउने गरी काम सुरू गरे’ उनले बेनीअनलाइनलाई भने ।

म्याग्दी जिल्लाका पाँचवटा गाउँपालिकामा सबैभन्दा कान्छो अर्थात २९ बर्षिय रोकाले ८० बर्ष बृद्धबृद्धाहरू दिनभरी लाइनमा बसेर भत्ता लिएर घर फर्कदा आफन्त र सहयोगीको माध्यमबाट यातायात र बोकेर जानुपर्ने अवस्थालाई विगत दुईबर्ष देखी नजिकबाट हेरेको समेत बताए ।

उनले गाउँकार्यपालिकाको बैठकको निर्णय लगत्तै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिमा विकास बैंकको दरवाङ शाखालाई समेत जानकारी गराएका छन् ।बैंकका प्रतिनिधि, वडा सचिव, सम्बन्धित वडा अध्यक्ष र सदस्यहरूले भत्ता वितरणमा सघाउने गरी संयन्त्र समेत बनाइएको छ ।घरदैलोमै भत्ता पाउने निर्णयले दिनभरीको यात्रा गरेर बैंकसम्म आउने बृद्धबृद्धाहरूउत्साहित भएका छन्।

यसैविच सामाजिक सुरक्षा भत्ता वितरणसंगै स्वास्थ्य शिविर र बृद्धबृद्धालाई आवश्यक अन्य सरकारी सेवालाई समेत प्राथमिकता दिने तयारी गाउँपालिकाले गरेको छ । उनले यूवा राजनीतिबाट पलायन भएर विदेश वा अन्य क्षेत्रमा आर्कषित भइरहेको अवस्थामा यूवालाई राज्यको निति निर्माणको क्षेत्रमा सक्रिय गराउन समेत आफुँले जनताको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

साविकका गाविसका सचिवले अनियमितता र वितरणमा ढिलासुस्ती गरेपछि बैंकिङ्ग प्रणालीको प्रयोग गरी वितरण गर्ने सुरू गरिएपनि बृद्धबृद्धाले घण्टौ लाइनमा बसेर भत्ता लिन पर्ने बाध्यता रहेको थियो । भत्ता लिन आएका धेरैजसो विरामी समेत हुन थालेपछि सेवाग्राहीले समेत चर्को आलोचना गर्ने गरेका थिए । भत्ताबापत बुझेको रकम खाना, खाजा र यातायातमै सकिने गरेको थियो ।

पश्चिम म्याग्दीको दरवाङमा रहेको गरिमा विकास बैंकमा सामाजिक सुरक्षाभत्ता लिन आएका बृद्धबृद्धाहरू ।