देवीकलालाई उपचार र क्रियाखर्च जुट्न थाल्यो

0

विषाक्त खानाका कारण बुहारी र नातिको मृत्युबरण सहनुभएकी म्याग्दीको रघुगंगा-८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्च जुट्न थालेको छ ।

अहिलेसम्म ६५ हजार रुपैयाँ सहयोग घोषणा भएको छ । गुरुङको छोरा प्रेम अहिले पोखरास्थित कास्की सेवा अस्पतालमा उपचाररत हुनुहुन्छ । मृत्युवरण गरेकी बुहारी चिना र १४ महिने नातिको काजक्रिया र छोराको उपचार खर्च अभाव भएको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित/प्रशारण भएपछि सहयोग जुट्न थालेको हो ।

म्याग्दीका सांसद् रेशम बानियाँबाट २५ हजार, रघुगंगा गाउँपालिका प्रमुख भबबहादुर भण्डारीबाट २० हजार, म्याग्दी घर भई हाल काठमाडौँ बस्ने सामाजिक अभियन्ता जितबहादुर घर्तीबाट दश हजार, बेनीस्थित केबी अटोपार्टसका सञ्चालक खेम केसीबाट ५ हजार र बेनीस्थित न्यूरोडमा रहेको कमल सुनचाँदी दुकानका प्रोपाइटर कमल विश्वकर्माबाट ५ हजार रुपैयाँ सहयोग घोषणा भएको हो ।

गत शुक्रबार मँगला-४ छिस्वाङमा ससुराली आएका गुरुङ परिवारले ढिडोसँगै आलु र भेन्टा खाए लगत्तै बेहोस भएका थिए । स्थानीयको सहयोगमा उनीहरुलाई बेनी अस्पताल ल्याईएको थियो । चिनाको बेनी अस्पताल र १४ महिने छोराको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

देवीकलाकी श्रीमान सार्के गुरुङ १७ बर्षदेखि भारतमा बेपत्ता छन् । दैनिक मजदुरी गरि गुजारा चलाउँदै आएका देवीकलासँग बुहारी र नातिको दाहसंस्कार गर्ने रकम समेत अभाव भएपछि बेनीस्थित नेपाल छन्त्याल संघले १० हजार रुपैयाँ र पाखापानी निवासी पदम शेरपुञ्जाले ५ हजार बराबरको दाउरा सहयोग गर्नुभएको थियो ।

पात्लेखर्कस्थित रिखार युवा क्लबको अगुवाईमा विभिन्न व्यक्तिलाई व्यक्तिगत सहयोग उठाएर दाहसंस्कार गरिएको क्लबका सचिक अंकित पुनले जानकारी दिनुभयो । सांसद बानियाँले व्यक्तिगत सहयोग घोषणासँगै सरकारी सहयोगका लागि आफ्नो स्थानबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।