निःशुल्क बन्ध्याकरण शिविरबाट १६ जना लाभान्वित

0

म्याग्दी जिल्ला अस्पतालको परिसरमा सञ्चालित परिवार नियोजनसम्बन्धी निःशुल्क बन्ध्याकरण शिविरबाट १६ जना लाभान्वित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा ३ दिनसम्म सञ्चालन भएको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा भ्यासेक्टोमी र मिनिल्यापको सेवा दिइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक कार्यक्रमअनुसार सञ्चालित बन्ध्याकरण शिविरमा १३ जना पुरुषले भ्यासेक्टोमी र ३ जना महिलाले मिनिल्यापको सेवा लिएको अस्पतालका पब्लिक हेल्थ नर्स लिला गौतमले बताइन् । सन्तानको रहर पुगेका दम्पतिहरुका लागि लक्षित गरी सञ्चालित शिविरमा परिवार नियोजनसम्बन्धी अस्थायी तथा स्थायी सेवाको बारेमा समेत परामर्श दिइएको उनले बताइन् ।

नेपालमा बढ्दै गैरहेको जनसङ्ख्या वृद्धिदरलाई कम गर्ने उद्देश्यले परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शिविरमा डाक्टर लक्ष्मी गौतम, स्टाफनर्स जानकी केसी र जिल्ला अस्पतालको ओटी टिमले सेवा प्रवाह प्रदान गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालयले यसअघि गत माघ महिनामा जिल्ला अस्पताल, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र र भूरुङ–तातोपानी स्वास्थ्यचौकीमा शिविर आयोजना गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालयमा भने नियमित रुपमा परिवार नियोजनसम्बन्धी सेवा उपलब्ध रहेको कार्यालयको भनाई छ । प्रताप बानियाँ