बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको पुननिर्माणका लागि र्पोचुगलमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । विद्युत सर्ट भएर आगलागी हुदाँ कक्षा कोठा, कार्यालय, कम्प्युटर ल्याब र पुस्तकालय रहेको ८ कोठे दुई तले भवन गरी करिव ९२ लाख रुपैया बराबरको क्षत्ती भएको विद्यालयको पुननिर्माणको अभियानमा मोना र्पोचुगलले सङ्कलन गरेका ८० हजार ३८० रुपैयाँ एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

मोना र्पोचुगलका अध्यक्ष कुमार राम्जाली, उपाध्यक्ष राजन थापा र सदस्य सन्देश शाहीको पहलमा सङ्कलन भएको आर्थिक मंगलबार मोना आईसीका संरक्षक सुवास कुमार श्रेष्ठले विद्यालय ब्यवस्थापन समितिका सदस्य सुमन बानियाँ र शिक्षक रामप्रसाद शर्मालाई हस्तान्तरण गर्नुभएको छ । यसअगाडी समेत र्पोचुगलबाट वकिल गिरी लगाएतको प्रयासमा १ लाख ६२ हजार आर्थिक सहयोग गरेका थिए ।

यसैविच मोना कतारले समेत विद्यालयको भवन निर्माणमा २९ हजार आर्थिक सहयोग गरेको छ । मोना कतारका अध्यक्ष रमेश पौडेल र पूर्व अध्यक्ष विक्रम कार्कीको पहलमा उक्त रकम संकलन भएको थियो । भवन जलेर नष्ट भएपछि अस्थायी संरचनामा पठनपाठन भइरहेको छ । विद्यालयले सुरु गरेको पुननिर्माणको अभियानमा हालसम्म विश्वका विभिन्न देशबाट १८ लाख ३९ हजार सहयोग संकलन भएको छ भने प्रतिबद्धता जनाएकाहरुले सहयोग रकम उपलब्ध गराउने क्रम जारी रहेको छ। बालविकास देखी कक्षा ८ सम्म१७४ जना विद्यार्थी अध्ययनरत छन् ।