स्तनक्यान्सरबाट पिडित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखकी दिलासा पुनको उपचारमा आर्थिक सङ्कलन तिब्र पारिएको छ । आर्थिक अवस्था भएकै कारण उपचारमा समस्या देखिएपछि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको पहलमा सुरू भएको अभियान अन्र्तरगत मङ्गबार कोषका संस्थापक अध्यक्ष चन्द्र कुमार केसी ५ हजार, सचिव लोकेश पुन ३ हजार र सदस्य नरेश श्रेष्ठले २ हजार आर्थिक सहयोग गरेका छन् ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको पुनको यसअगाडी कोषले २० हजार र अध्यक्ष राजेश शाक्यले १० हजार सहयोग गरेका थिए । कृषि पेशामा आवद्ध रहेका पुन परिवारको आर्थिक अवस्था कमजोर रहेको छ ।

नियमित औषधी, भिडियो एक्सरे, इसिजी लगाएत आवश्यक परिक्षणका लागि ऋण खोजेर उपचार भइरहेको पुनलाई। शिखबाट यूकेमा रहेका शिखबासीको संस्था शिख्तानी समाज यूकेले ३ लाख २ हजार २ सय २१ रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।

कोषसंगको सहकार्यमा उक्त रकम हस्तान्तरण गरिएको समाजका अध्यक्ष दान बहादुर गर्बुजाले बताए । पीडित पुनको अवस्थामा निकै सुधार भएपनि नियमित औषधी सहितका सेवामा थप आर्थिक आवश्यकता रहेको छोरी एलिना पुनले बताईन् । कोषले सुरु गरेको अभियानको संयोजन बरंजाका कृष्णप्रसाद सापकोटाले गरेका छन् ।

नेपालमा दोस्रो ठुलो समस्याको रुपमा देखिएको स्तनक्यान्सरको जनचेतनाको अभावका कारण अन्तिम समयमा मात्रै विरामी अस्पतालमा पुग्ने गरेका छन् । चिकित्सका अनुसार घरमै स्तनक्यान्सरको पहिचान गर्न सकिने भएकाले रोग पहिचान भएलगत्तै उपचार भए स्तनक्यान्सर निको हुन्छ ।